Monday, August 4, 2014

राजनीतिक गोलचक्कर पार गर्न नया शक्तिको अपरिहार्यता



विषय प्रवेशः 

नेपाली राजनीति यतिवेला २१ औ शताव्दीको दाश्रो दशकमा छ । आधुनिक लोकतन्त्रको आरम्भ भएको भनिएको २००७ सालदेखि यता करिव पाच दर्जनभन्दा वढी वसन्त पनि पार गरेर प्रौढता हासिल पनि गरिसकेको छ । एकाध वर्ष अघि सम्म दलिय राजनीतिको थालनीकर्ता र राजनैतिक दलका संस्थापकहरु समेत यिनै पार्टीमा सक्रिय राजनीतिमा नै भएको अवस्था थियो । संस्थापकहरुकै जीवन कालमा नेपाली राजनीतिले राणा शासन विरुद्धको संघर्ष र राणा शासनको अन्त,राजतन्त्रसंगको शक्ति संघर्ष र निरंकुशताको अभ्यास, निर्दलीय पंचायती निरंकुशताका विरुद्धको निर्णायक संघर्ष र वहुदलिय राजतन्त्रको अभ्यास जनयुद्धको थालनी र एकैचोटी संघीयता गणतन्त्र धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र पप्त गरेको अवस्था हो । ६० वर्षको यो अन्तरालमा यतिका परिघटना सायद एउटा राष्ट्रकालागि अनौठो नै मान्न सकिन्छ । तर फेरि अहिले नेपाली राजनीति २००७ देखि १६ साल सम्मको र २०४६ देखि २०५२ ५६को अवस्था तिर फर्किएको आभाष हुने गरेको छ । पार्टीहरु नजन्मदै फुटको विउ रोपेको उदाहरण त प्रष्टै छ ।सडकमा संघर्षमा मिल्न सक्ने सत्तामा मिल्न नसक्ने अनपेक्षित परिघटना पनि नेपाली राजनीतिमा र राजनैतिक दलहरुमा देखिने गरेको छ ।

यतिवेला नेपाली राजनीति एकतातिरवाट हेर्दा २००७ पछिको जस्तो र अर्कोतिरवाट हेर्दा २०४८ पछिको जस्तो अवस्थामा पुगेको छ । अर्थात चरम अस्थिर तरल र संक्रमणको पनि पराकाष्ठमा पुगेको अवस्था छ र विकासको गतिका हिसावले हेर्दा संस्कार संस्कृति र मुल्य मान्यताका हिसावले केही परिघटनाहरु भने पछि फर्केको अवस्था पनि छ । केवल त्यतिवेला राजतन्त्र थियो अहिले गणतन्त्र छ । फरक यत्ति मात्रै होला ।

संकटमा संविधानसभाः

२०४८ सालमा कांग्रेस पहिलो पार्टी थियो एमाले दाश्रो र जनमोर्चा तेश्रो थिए । २०४७ सालमा कांग्रेस र वाममोर्चा मिलेर संविधान वनाएका कारणले उनीहरु पहिलो र दोश्रो थिए यतिवेला माओवादी र मधेशवादीले संविधान वनाउने अवसर छोप्न नसकेका कारणले फेरि २२ वर्ष पछि पनि पार्टीहरुको मर्यादाक्रम त्यस्तै छ । त्यतिवेला फुटने क्रम पनि त्यही थियो त्यसै क्रमसंगै पार्टीहरु फुटेका थिए । त्यसको परिणामस्वरुप राजनीति राजतन्त्रको हातमा पुगेको थियो । कतै फेरि कांग्रेस र एमालेको हातवाट नेपालको राजनीति अरु कसैको हातमा नपरोस भनेर चिन्ता नगर्ने हो भने हामीले गरीखादैनौ । तत्कालिन अवस्थामा  मुलुक जनयुद्धको घोषणा संगै युद्धको भुमरीमा थियो । दश वर्षको अथक संघषर्, युद्ध, मर वा गर को स्थिति पार गर्दै र पन्ध्रहजार भन्दा वढीको शहादत, थुप्रै वेपत्ता, घाईते र अपांग संगै गणतन्त्र प्राप्त भयो । यसका साथमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता महत्वपुर्ण उपलव्धीहरु पनि भएका छन् । तर तिनको संविधानसभावाट वन्ने संविधानमा संस्थागत हुन वांकी नै छ । तर राजनीति फेरि एक पटक ४८ सालकै अवस्थामा फर्केको छ । त्यतिवेला कांग्रेस ठुलो पार्टीले पार्टी फुटको अगुवाई गरेको थियो एमाले दाश्रो थियो दाश्रो फुटाई उसकै थियो । जनमोर्चा तेश्रो थियो तेश्रो क्रममा फुटने धर्म उसले पनि निर्वाह गरेको थियो । आज २२ वर्ष पछि फर्केर हेर्दा पार्टीहरु त्यही पुरानो र जाने माने कै वाटो अवलम्वन गर्ने दिशामा उद्धत देखिन्छन् । २०४८ सालको पार्टी फुटको परिणाम सकारात्मक निस्केन भन्ने निष्कर्ष निकाल्न सके पार्टीहरुले भने मात्रै पार्टीहरु रुपान्तरणको वाटो समात्लान या नया शक्तिको अपरिहार्यतालाई स्वीकार गर्लान यो नै आजको यथार्थ हो । 
२००७ देखि १४ सम्मको विवाद संविधानसभाको निर्वाचन घोषणा गरेर पनि गर्न असफल भै अन्तत अदालतको दुरुपयोग गरेर संविधानसभाको सटटा संसदको निर्वाचनमा मुलुकलाई हेल्ने काम भएको थियो । भने आज ठीक ६० वर्ष पछि निर्वाचित संविधानसभालाई संविधान दिन असफल सिद्ध गर्दै संविधानसभाको हैन अव ससदको निर्वाचनमा लैजाने हर्कत करिव करिव अदालतकै सहारामा भएको थियो । हुदाखादाको संविधानसभावाटै केही सम्झौता गरेर भए पनि संविधान दिएर संविधानसभा सफल पार्न त दलहरु र प्रमुख नेताहरुले सकेनन् तथापि तत्कालिन सरकारको नेतृत्व र दलहरुको कमसेकम वुद्धिमत्ताका कारण संविधानसभाको विकल्प संविधानसभा नै भन्ने सम्मको झिनो भए पनि सकारात्मक निष्कर्षमा पुग्दै त्यो कडि टुटन नदिएको अवस्था सम्म अहिले छ भन्न सकिन्छ । किनकि आज पनि हाम्रा सामु जननिर्वाचित संविधानसभा छ । तर नेपालमा संविधानसभा राजनीति असफल पार्न जानी वा नजानी प्रतिगामी याथास्थितिवादी र क्रान्तिकारी सवै एक जुट हुने गरेको ईतिहास हिजो रचिएको थियो । आज पनि त्यसवाट क्रान्तिकारी दावा गर्ने दलहरु माथि उठलान् भन्नेमा ढुक्क हुन सकिने अवस्थामा छैन । फेरि पनि संविधानसभावाट संविधान नवन्ने र यो तुहिने र नेपालमा संविधानसभा राजनीति संभव छैन भन्दै गर्दा संवैधानिक राजनीतिको स्थान छैन भन्ने पुष्टि गर्ने कोशिश हुदैछ । यसवाट सचेत रहनु सचेत नागरिकको आधारभूत कर्तव्य वन्न पुगेको छ । 

संकटमा दलहरुः

मथि नै चर्चा गरियो कि नेपालका दलहरु कांग्रेस वा कम्युनिष्ट वा पंच वा पुर्व पन्च वा मधेशी वा जनजाति कसैको पनि यस्तो अनुभव छैन जो जोश जागर र एउटै मर्म र भावनाकासाथ ओतप्रोत भएर पार्टी गठन गरेको होस । पार्टी गठन गर्दा कै वखत फुटको विउ रोपेर र कसैको प्रतिकृयाकानिम्ति वनेका पार्टीहरु कालान्तरमा फुटेरै देखाएका छन् । जुटेका पनि छन् पार्टीहरु तर संघर्षको वेला जुटेका होलान । सत्तामा पुगेका वेला, खान पिन र सत्ता स्वार्थका कारणले नै मुलत पार्टीहरु फुटेकै छन् । त्यही शिलशिला यतिवेला पनि नदोहोरिएला भन्न सकिदैन । पुष्पलाल कार्यकारी सचिव रहेर गठन भएको नेपाली राष्ट्रिय कांग्रेस डिल्ली रमण र विपिको विवादका कारण विभाजित हुदा वाम र काग धारमा विभाजित भयो । भने पुष्पलालले कम्युनिष्ट पार्टी निर्माण गर्दा माक्र्सवादी अध्ययन समुहका मानिसलाई नसमेटेको आरोपमा हलवाईहरुले लाल कम्युनिष्ट पार्टी खोले । जसको अस्तित्व २०१७ साल सम्म रहयो । गठन पश्चात नै विपिको कांग्रेस पार्टी र पुष्पलालको कम्युनिष्ट पाटी दुवै केही दर्जन पार्टीहरुमा विभाजित हुन पुगेको साचो हो । पार्टी विभाजन नेपाली समाजको रुपान्तरण क्रान्ति र परिवर्तनका ऐजेण्डामा भन्दा व्यक्तिगत टकराव,सत्ता स्वार्थ र चरम आशंका र महत्वकांक्षाले काम गरेको छ । त्यो क्रम रोकिएको छैन । घटेको पनि छैन । वरु ६० वर्ष वुढा पार्टीहरु झैे फुटको प्रकृयाले पनि त्यतिकै अनुभव हासिल गरेको छ । दलहरु फेरि पनि फुटको संघारमा छन् । यो फुटलाई जोगाउन सक्ने र नसक्नेको आधारमा पार्टीहरुको र नेतृत्वको कुशलता नापिने, जाचिने अवस्थामा आई परेको छ ।

साठी वर्षको संश्लेषणः

आजसम्मको राजनैतिक दलहरुको संश्लेषण भनेको नै पटक पटक गुम्दै प्राप्त हुदै गरेको आफनो हातको संविधानसभालाई सफल पार्न दल र तिनका नेताहरु सक्छन् कि सक्दैनन र गठन हुदै फुटको विउ रोपेर आएका दलहरु पटक पटक त फुटेकै छन् तर ऐतिहासिक संविधानसभालाई सफल पार्ने यो ईतिहासकै महत्वको क्षणमा दलहरु फुटनवाट जोगिन र एकापसमा एकजुट हुन सक्छन् कि सक्दैनन् भन्ने गंभिर चुनौतिका सामुन्नेमा छन् । राजनीति पार्टीहरुलाई फुटवाट जोगाउन सक्दा र संविधानसभालाई सफल वनाउन सक्दा नेपाली राजनीतिको यो पुस्ता यी दल र यो नेतृत्व एकमुष्ट रुपमा सफल भएको ठहरिनेछ र त्यसो गर्न नसक्दा यो पुस्ता आफु त असफल हुने छदैछ भावी पुस्तालाई पनि असफलताको रिणको भारी वोकाएर जानेछ । आजको राजनीतिको चुनौति यही नै हो । 

अचुक उपाय नया शक्तिः

संविधानसभा सफल पार्ने र दलहरुको संकटवाट मुक्ति पाउने दुवै उपाय पुरानै ढर्रा, पुरानै तौर तरिका र पुरानै आचार व्यवहार, विचार र सिद्धान्तवाट संभव छैन । समाज वदलिएको छ । राजनीति वदलिएको छ । विश्व वदलिएको छ । जनताको चेतना वदलिएको छ । वदलिएको यो घडीमा आफु वदलिन तयार नहुने पुरानै तरिकाले लैजाने ढिपी कस्ने वदलिनै परे आफु हैन अर्को मात्रै वदलियोस भन्ने तरिकाले त झन हुनेवाला नै छैन । त्यसैले वदलिएको समाज राजनीति र वर्ग चरित्र समेतको विहंगम विश्लेषण गरी तदनुकुलको नया विचार, नया पार्टी संगठन र नया कार्यशैली अवलम्वन गर्ने, नया प्रतिवद्धता सहितको नया शक्ति नै आजको आवश्यकता हो । कांग्रेस, एमाल,े माओवादी, राप्रपा र मधेशवादी दलहरु लगायतका सवै दलभित्र रहेका विवाद र वहसका स्तर र औकात हेर्दा विना कुनै अपवाद अहिलेको चुनौति सामना गर्न यतिकै र अहिलेकै तागतले कुनै पार्टीले पनि सक्दैनन भन्ने कुरा दोहोरयाईरहन पर्दैन । त्यसैले फेरि एकपटक आट गरौ राजनीतिमा देखिएको गोलचक्करवाट मुक्तिको उपायका रुपमा नया शक्तिको निर्माणको अभियानमा जुटौ यही नै यतिवेलाको सच्चा लोकतन्त्रवादी र सच्चा क्रान्तिकारी र सच्चा राष्ट्रवादी सवै होईन्छ । देश र जनताको मुक्तिको मार्गचित्र पनि कोरिन्छ । अन्यथा पुनरमुसिको भवः वाहेक अर्को विकल्प छैन । 


No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...