Tuesday, June 29, 2021

धान दिवस र डिजिटल अर्थतन्त्र

 भूमिका : 

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसलाई राष्ट्रिय धान रोपाइँ दिवसका रूपमा पनि मनाउने चलन छ । कृषिप्रधान देश नेपालमा असार १५ का दिनमा हिलो कुल्चने भन्ने नाममा पनि हरेक मानिसले धान रोपाइँमा सामेल हुने परम्परा रहिआएको छ । असार १५ लाई मानो खाएर मुरी उब्जाउने मौसमको उत्कर्षका रूपमा पनि मनाउने गरिन्छ । असार १५ को उत्सवका रूपमा खेतमा प्रवेश गर्नुभन्दा पहिले नेपाली परम्परागत पोसाकमा सजिएर चाडपर्व मनाउने रूपमा नाचगान र बजानका साथ खेतमा प्रवेश गर्ने प्रक्रियाबाट रोपाइँको आरम्भ हुन्छ । १ डिसेम्बर २००४ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा घोषणा गरेदेखि भने यो दिनले चर्चा पाएको छ । किसान नियमित कामका रूपमा, गैरकिसान दिवस मनाउने औपचारिकताका रूपमा र पर्यटक मनोरजनका रूपमा यो दिवसलाई मनाउने गरेको पाइन्छ । सङ्घीय संरचनाको आरम्भले विभिन्न प्रदेशले आफ्नो विशेषताका आधारमा आ–आफ्ना दिवस मनाउने गरिआएकोमा कर्णाली प्रदेशले भने असार १५ लाई सार्वजनिक बिदाका रूपमा पनि घोषणा गरेको पाइन्छ । कुल गार्हस्थ उत्पादनमा धानको योगदान जम्मा सात प्रतिशत छ, यद्यपि नेपालले पच्चीस अर्ब रुपियाँको चामल आयात गर्छ । आजको डिजिटल अर्थतन्त्रमा धान दिवसको महŒव र योगदानका बारेमा चर्चा गर्ने यो लेखको आसय रहेको छ ।

डिजिटल अर्थतन्त्र :
आजको विश्वको परिदृश्य बदलिँदो छ । विश्वलाई बदल्ने विभिन्न साधनमध्येको एक यो डिजिटल अर्थतन्त्र पनि हो । विज्ञान र प्रविधिको चामत्कारिक विकासले मानिसले पत्याउनै नसक्नेगरी नयाँ–नयाँ अन्वेषण गरेका छन् । नयाँ–नयाँ अन्वेषणले मानिसको दिनचर्या बदलिदिएको छ । यो बदलावको रफ्तार अत्यन्त तीव्रत्तम बन्दै गएको छ । त्यसैले हामी धान दिवस पनि मनाउँदै छौँ, सँगसँगै डिजिटल अर्थतन्त्रको प्रभाव धान उत्पादनमा के परेको छ वा पर्नेवाला छ भन्नेबारेमा पनि चर्चा गर्न त्यत्तिकै आवश्यक छ ।
वास्तवमा डिजिटल अर्थतन्त्र एक आर्थिक गतिविधि हो, जुन अनलाइनका माध्यमबाट दैनिक अर्बौं, खर्बौं परिमाणमा मानिसका व्यवसाय र तिनका तथ्याङ्कको प्रयोग र प्रशोधनका माध्यमबाट हुने गर्छ । डिजिटल इकोनोमी अर्थ व्यवस्थाको एक उच्चतम स्वरूप पनि हो, जसमा मानिस, उद्योग र मेसिन इन्टरनेट वा प्रविधिमार्फत एकै साङ्लोमा बाँधिन्छन् र परिणाम गुणात्मक उत्पादन दिने गर्छन् । प्रविधिको माध्यमबाट उपलब्ध तथ्यको आक्रामक प्रयोगको माध्यमबाट व्यवसायका मोडेल परिवर्तित भएका छन्, नयाँ–नयाँ सेवा र सुविधा उपलब्ध भएका छन्, जसले व्यवस्थापनमा नयाँ संस्कृतिको प्रवेश त गराएको छँदै छ । त्यसका अलावा नयाँ–नयाँ चुनौती थपिदिएको छ । यो डिजिटल इकोनोमी यस्तो साधन बन्यो, जसले केवल प्रविधिमात्रै प्रयोग गर्छ र प्रविधिको प्रयोगमार्फत व्यवसायमा आमूल परिवर्तन गराइदिन्छ । ऊ आफँै व्यवसायमा प्रवेश गर्दैन । उदाहरणका लागि विश्वको सबैभन्दा ठूलो ट्याक्सी कम्पनी उवरसँग कुनै पनि गाडीको स्वामित्व छैन । सामाजिक सञ्जालको राजा मानिएको फेसबुकले कुनै सामग्री उत्पादन गर्दैन, सबैभन्दा ठूलो रिटेलर अलिबाबाको आफ्नो कुनै उत्पादन छैन । विश्वको प्रमुख आवासप्रदायक कम्पनी एयर बीएनबीसँग कुनै पनि आवासको स्वामित्व छैन । अर्थात् विश्वका प्रख्यात व्यवसायी कम्पनीहरूले केवल प्रविधिको प्रयोग गर्छन् र डिजिटल प्रविधिको माध्यमबाट उपलब्ध सबै सामग्रीको व्यापारमा आमूूल परिवर्तन गर्दै राष्ट्रिय र विश्व अर्थतन्त्रको आकारप्रकारमै परिवर्तन ल्याइदिन सफल भएका छन् ।
डिजिटल इकोनोमीका कारण आगामी दिनका क्रियाकलाप अनुमान गर्नै नसकिनेखालको बनाइदिएको छ । डिजिटल वल्र्डमा भएको विकासको प्रवृत्तिको आँकलनविना कुनै पनि व्यवसायको र अर्थ व्यवस्थाको भविष्य आँकलन गर्न नसकिने भएको छ । अबको कामको भविष्य विगतको जस्तो हुने छैन । कार्यालयहरू कार्यालय परिसरबाट हैन, प्रविधिको सहारामा अनलाइन प्लेटफर्मबाट सञ्चालित हुनेछन् । महामारीको प्रकोपको सामना गर्न भौतिक हैन, अनलाइनको माध्यम प्रभावकारी बन्न पुगेको छ । परिवर्तित यो परिवेशमा आगामी दिनका दिनचर्याको निर्धारण गर्न, आगामी व्यवसायको स्वरूप अवलम्बन गर्न र आगामी दिनको जीवन पद्धति बदल्न पनि डिजिटल इकोनोमीले उत्प्रेरित गरिरहेको छ ।
कृषिमा डिजिटल इकोनोमी :
डिजिटल कृषि भनेको खेतदेखि उपभोक्तासम्म कृषि उत्पादनलाई संयोजन गर्न प्रयोग गरिने डिजिटल टेक्नोलोजी नै कृषिमा डिजिटल इकोनोमीको प्रभावका रूपमा बुझ्न सकिन्छ । यी प्रविधिले कृषि उद्योगलाई प्रविधि, उपकरण र सूचनाको माध्यमबाट उत्पादकत्वमा वृद्धि गर्न सकिने कुरा सहज अनुमान गर्न सकिन्छ । यस तथ्यलाई मध्यनजर गर्दै धान दिवसका अवसरमा हिलो छ्याप्ने र किसानसँग सुकिलामुकिला मानिसको लैबरी आजको आवश्यकता हैन, बरु डिजिटलाइज धान उत्पादन र यसको उत्पादकत्वमा गुणात्मक वृद्धि आजको खाँचो हो ।
कृषिमा डिजिटल प्रविधि परिचालनको माध्यमबाट डेनमार्कजस्तो सानो मुलुकले चीनजस्तो विशाल जनसङ्ख्याका लागि गोरुको मासु सप्लाई गर्न मन्जुर भएको छ । यसैगरी, नर्वेजस्तो सानो मुलुक संसारभर आफ्नो लोकप्रिय उत्पादन साल्मन्ड माछाको आपूर्ति गर्न भ्याइनभ्याई छ । अस्टे«लियाको सानो सहर भिक्टोरियाका किसानले अस्ट्रेलियाको खाना र फाइबरको निर्यातको एकतिहाइ योगदान पु¥याउँछन् । भिक्टोरियाले उत्पादन गरेको खानाको माग बढ्नका लागि सेट गरिएको छ किनकि विश्वको जनसङ्ख्या आगामी केही वर्षमा नै विश्वको जनसङ्ख्यामा वृद्धि भई सात अर्बबाट बढेर लगभग १० अर्बमा जान्छ भन्ने प्रक्षेपण जनसङ्ख्याविद्हरूको छ । सोबमोजिमको खाद्य उत्पादन पनि हुन अनिवार्य छ । अनुसन्धानहरूले बताएअनुसार विश्वको आधा जनसङ्ख्या खानाका रूपमा भात खान्छ । अहिले यो सङ्ख्या साढे तीन अर्ब छ भने जनसङ्ख्या वृद्धिको आगामी वर्षमा धानको माग स्वतः बढेर जाने कुराको अनुमान गर्न सकिन्छ ।
धानमा प्रविधिको प्रयोग :
धान रोप्न पानीको जरुरत पर्छ । नेपालजस्ता आकाशे वर्षाको भरमा रोपाइँ गर्नेका लागि प्रविधिको प्रयोगका विविध आयाम हुन सक्छन् । जलवायु परिवर्तनका कारण बढेको तापमान, यसैको प्रभावस्वरूप वर्षा बान्कीमा आएको परिवर्तन, अत्यधिक र बारम्बार चरम मौसमी दुर्घटनामा भएको बढोत्तरी र पानी उपलब्धतामा भएको कटौतीजस्ता समस्याले किसान मारमा परेका छन् भने धान खेतीले सङ्कट भोगिरहेको छ । यस्ता सङ्कटको सामना गर्न धान खेतीका लागि प्रविधिको उपयोगमार्फत किसानलाई सूचना उपलब्ध गराउने र उपयुक्त प्रविधि र साधनको प्रयोगका लागि उत्प्रेरित गर्ने कुरा गर्न अब ढिला गर्नुुहुँदैन । डिजिटल टेक्नोलोजीसँग किसानलाई जानकार बनाइराख्ने र आइलाग्ने चुनौती सामना गर्ने क्षमता र विकासको अवसर लिन सक्ने सक्षमता प्रदान गर्ने दायित्व पनि हरेक जिम्मेवार सरकारको हो । समस्या केवल किसानको मात्र होइन । उपभोक्ता उनीहरूले किनबेच गरेका उत्पादनका बारेमा सूचना र प्रविधिको माध्यमबाट जानकार हुँदै छन् । तिनीहरू उच्च गुणस्तर र दिगो रूपमा उत्पादन गरिएको खाना र फाइबरको माग गर्छन् र उनीहरूका उत्पादन कहाँबाट आउँछन् भन्नेबारे बढी जानकारी राख्न चाहन्छन् । डिजिटल टेक्नोलोजीले कृषि उत्पादनमा सुधार गरिएको उत्पादनको खपत गर्न सक्षम छन् भन्ने सुनिश्चित गर्न, उपभोक्ताका लागि सन्तुष्टि प्रदान गर्न र किसानका लागि उचित मूल्य प्रदान गर्न राज्यहरू सक्षम छन् भन्ने प्रमाणित गर्न पनि ढिला भइसकेको छ ।
हामी कृषि प्रविधिमा अनुसन्धान गर्न, अनुसन्धानबाट प्राप्त नतिजालाई सार्वजनिकीकरण गर्न र जनताको पहुँचमा पुराउन राज्यहरू दृढसङ्कल्पित छन् भन्ने प्रमाणित गर्न पनि जरुरी भएको छ । डिजिटल टेक्नोलोजीसँग किसानलाई परिचित गराउन र कृषि क्षेत्रमा आएका चुनौती सामना गर्ने क्षमता छ भन्ने सुनिश्चित गर्न पनि सरकार चुक्न हुँदैन ।
अन्त्यमा :
डिजिटल इकोनोमीसँगै डिजिटल कृषि लगानी योजना आरम्भ गर्न जरुरी छ । यसका लागि डिजिटल प्रविधिको माध्यमबाट कृषिको अनुगमन, मौसमको अनुगमन, माटो परीक्षण र तदनुकूलको परियोजना विकास सो परियोजना कार्यान्वयनका लागि आवश्यक पुँजी र प्रविधिको व्यवस्थापन र सोका लागि उत्प्रेरणा, परिवर्तित मौसमको भविष्यवाणीका आधारमा कृषिमा आधुनिकीकरणसहितको प्रविधियुक्त कृषि उत्पादनको आरम्भविना धान दिवस मनाउनुको कुनै अर्थ हुने छैन । उत्पादन र बजार व्यवस्थापनका साथै उपभोक्ताको उपभोगको प्रवृत्तिको पहिचान गर्दै सोबमोजिमको उत्पादनको व्यवसायीकरण गर्नतर्फ पनि किसान र राज्यका जिम्मेवार निकायको ध्यान केन्द्रित हुन सके असार पन्ध्र र राष्ट्रिय धान दिवसको औचित्य साबित हुनेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

Friday, June 18, 2021

संसद् विघटनको विधिशास्त्र

संसद् (प्रतिनिधिसभा) विघटनका बारेमा यतिबेला चर्चा छ । नेपालको संसदीय इतिहासमा झन्डै आधा दर्जनपटक र नयाँ संविधान जारी भएपछि पनि छ महिनाको अन्तरालमा दुईपटक विघटन भएका कारणले पनि यसको चर्चा अलि बढी नै भएको हुन पर्छ । यस आलेखमा संसद् विघटनको विधिशास्त्रका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

संसद्को सार्वभौमिकता
संसदीय परम्पराको जननी मानिने बेलायतमा प्रारम्भमा सार्वभौमसत्ता राजामा हुन्छ भनियो र राजाले बोलेको कानुन हुन्छ भनियो । राजाको अधिकारको कटौती गर्ने कानुन वा त्यस्तो कानुन बनाउने संस्था संसद् विघटन गर्ने अधिकार पनि राजामा हुन्छ भनियो । खासगरी जतिबेला प्रतिनिधित्वविना कर लगाउन पाइने छैन भन्ने सिद्धान्त संसद््ले अवलम्बन ग-यो, तब यस्तो संसद् किन राख्नु भन्दै राजाले विघटन गर्न थाले । यो परम्परा पछिसम्म कायम रह्यो । राजा र संसद््का बीचमा विवाद बढ्दै जाँदा अन्ततः संसद् अधिनस्थ राजा भन्ने मान्यतालाई राजाले स्वीकार गरेका कारणले राजा मानार्थ र सर्वशक्तिमान संसद्को मान्यताको विकास भयो । पछि गएर यसैलाई संसदीय प्रणाली भन्ने गरियो ।
संसद्को सार्वभौमिकताको कुरा गर्दा यो पनि भन्ने गरियो कि बेलायतको संसद्् महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक अरू सबै गर्ने अधिकार राख्छ । संसद््को अधिकार संसद्बाहेक कसैले कटौती गर्न सक्दैन भन्ने मान्यताको विकास भयो भने राज्यका सबै अङ्ग निकाय र पदाधिकारी संसद््को अधिनस्थ हुन्छन् भन्ने पनि मान्यताको विकास भयो । संसद् सार्वभौम भएका कारणले यसमा असीमित अधिकार रहन्छ भन्न थालियो । अदालतले संसद््को कानुनलाई नाघ्न सक्दैन बरु संसद् आफैँले आफ्ना कानुनको संशोधन वा खारेज गर्न सक्छ । संसद्् कसैको अधिनमा पनि छैन र संसद् आफ्नै पूर्वमान्यता र निर्णयको पनि बन्दी बन्न पर्र्दैन भन्ने मान्यता विकास भयो । त्यो संसद् जतिबेला जे अवस्थामा जो छ, सोही सर्वशक्तिमान छ भन्ने अवधारणा नै संसद््को सार्वभौमिकता हो । शक्ति पृथकीकरणका साथै नियन्त्रण र सन्तुलनको मान्यता पनि विकाससँगै संसदीय मान्यताको समृद्धि पनि भयो । यति हँुदाहँुदै पनि जनताको प्रतिनिधि भएका कारण संसद्को सार्वभौमिकता कुण्ठित हुँदैन भन्ने मान्यतासमेत विकास भयो ।

संसद् विघटनको विधिशास्त्र
संसद् जनताको प्रतिनिधि संस्था हो । संसदीय व्यवस्थामा संसद् सरकारको जननी पनि हो । जब सरकार जन्माउन सक्दैन, त्यतिबेला संसद््को औचित्य स्वतः समाप्त हुन्छ र संसद् विघटन औचित्यपूर्ण ठानिन्छ । परम्परागत संसदीय प्रणालीमा संसद््मा विश्वास प्राप्त नेता नै प्रधानमन्त्री हुने हुनाले जब संसद््ले काम गर्न बाधा खडा गर्छ, तब प्रधानमन्त्रीका सामु राजीनामा वा संसद् विघटनमध्येको एक विकल्प छान्ने स्वतन्त्रता हुन्छ भनिन्छ । संसदीय प्रणालीको जननी बेलायतले एक दशक अघि त्यो मान्यता बदल्यो र भन्यो– संसद््को सार्वभौमिकता समाप्त पार्ने काम ऊ आफैँले बाहेक अरूले गर्न सक्दैन । त्यसैले उसैको दुईतिहाइ बहुमतले स्वीकार गरेमा मात्रै विघटन सम्भव छ, अन्यथा संसद््को अवधि तोकिएबमोजिम नै हुन्छ भन्दै फिक्स टर्म पार्लियामेन्ट एक्ट पारित ग¥यो । त्यसपछि संसद््को सार्वभौमिकता अझै बलियो हुन पुगेको छ ।
अर्को मान्यता जापान हो, जहाँ संसद्को नेता प्रधानमन्त्रीले इच्छाएको योजनामा संसद्ले सहयोग गरेन भने या त मेरो योजनामा सहयोग गर अन्यथा संसद् भङ्ग गर्छु भन्ने छुट संविधानले दियो । त्यहाँ ‘लेजिस्लेटिभ बार्गेनिङ’का नामले प्रचलित मान्यताको विकास भयो ।
विधिशास्त्रीय मान्यताका आधारमा भन्ने हो भने पहिलो सर्त संसद् जनताको प्रतिनिधि संस्था हो, त्यसैले ऊ सार्वभौमिक छ । यसको विघटनको औचित्य पुष्टि गर्न जरुरी छ । दोस्रो सर्त, संसद् विघटन वा राजीनामा प्रधामन्त्रीको छनोट हो, तथापि सो विघटन अपरिहार्य थियो भन्ने कुरा पुष्टि गर्न जरुरी छ । तेस्रो सर्त, संसद् कानुन निर्मात्री संस्था हुनाका नाताले संसद् विघटन पनि कानुनबमोजिम मात्रै सम्भव छ । चौथो सर्त हो, संशयमा वा संविधानको छिद्र खोजेर विघटन गर्न पाइँदैन । पाँचौँ सर्त, जस्तोसुकै आपत आइलागे पनि संसद््का सामु जानैपर्छ, गुहार माग्ने हो भने संसद््सँगै माग्ने हो । यी र यस्ता मान्यता सम्बन्धित मुलुकको संसद् विघटनका बारेमा अदालतबाट बोलिएका तथ्यहरू हुन्, जसलाई संसद् विघटनको विधिशास्त्रका रूपमा लिने गरिएको छ ।

हालै विकसित विधिशास्त्र
बहुमत प्राप्त प्रधानमन्त्रीले स्वतन्त्रतापूर्वक काम गर्न पाएन भने बाधा खडा गर्ने संसद्् विघटन गर्न पाइन्छ भन्ने मान्यतामा अडिएको संसदीय प्रणाली अब संसद््मा बहुमत प्राप्त गर्न नसक्ने प्रधानमन्त्रीले मात्रै विघटनको सिफारिस गर्न सक्छ भन्ने अवस्थामा प्रवेश ग-यो । संसद््को काम सरकार जन्माउने हो । सरकार जन्माउन सक्दासम्म संसद् विघटन सम्भव छैन भन्ने निष्कर्षमा पुग्यो र सरकार बहुमतले बनाउने भए पनि विघटन गर्न दुईतिहाइ चाहिने भयो । अहिले विकसित संसदीय प्रणालीका रूपमा बेलायतले एक दशकअघि आरम्भ गरेको मान्यता अहिले श्रीलङ्का हँुदै संसारका धेरै मुलुकमा पुग्यो र सम्बन्धित देशका न्यायालयले पनि सोही आधारमा संसद् विघटन अमान्य घोषित गर्ने गरेका छन् । पछिल्लो उदाहरणका रूपमा नेपालको संविधान जसले निर्वाचन भएलगत्तै सरकार बनाउन नसकेमा वा सरकार बनाए पनि संसद््बाट विश्वासको मत प्राप्त गर्न नसकेको र सोबाहेक अर्को सरकार दिन नसक्ने संसद् विघटन हुन सक्छ भन्ने व्यवस्थालाई अदालतको व्याख्याले थप पुष्टि गरिदियो । त्यसका बाबजुद पनि यो विषय विचाराधीन छ, यसबारेमा थप व्याख्या हुने अपेक्षा गरिएको छ ।

नेपालको सन्दर्भ
नेपालको संविधानमा प्रसङ्गवश धारा ७६ (७) मा विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा संसद् विघटन भई अर्को निर्वाचनको मिति घोषणा हुनेसम्मको व्यवस्था छ तर त्यो व्यवस्था संसद् विघटनको हैन, सरकार गठनको धारामा छ । निर्वाचन भएको ३० दिनभित्र सरकार गठन गर्नपर्ने, सो अवधिभित्र बहुमतको सरकार गठन हुन नसकेमा अल्पमतको सरकार बन्ने, सो पनि हुन नसकेमा संसद््को कुनै पनि सदस्यले विश्वासको मत लिन सक्ने आधारसहित दाबी गरेमा प्रधानमन्त्रीमा नियुक्त गर्ने र त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसकेको अवस्थामा मात्रै संसद् विघटन हुने हो ।
हालै मात्र नागरिकता अध्यादेशका सन्दर्भमा संवैधानिक इजलासको फैसला सान्दर्भिक छ । संसद् बैठक नबसेको बेला केही गर्न आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा अध्यादेश जारी गर्न सक्ने सरल वाक्यमा लेखिएको अध्यादेशबारेको व्यवस्थालाई असंवैधानिक घोषणा गर्न अदालतले लिएको आधार संसद् विघटनका बारेमा पनि सन्दर्भ हुनेछ । अदालतको विचाराधीन विषयमा आँकलन गर्नु स्वाभाविक नहोला तथापि प्राज्ञिक बहसका हिसाबले अदालतले अवलम्बन गरिआएको मान्यता र सिद्धान्त विचाराधीन मुद्दामा प्रभावी नहोला भन्न सकिन्न ।

निष्कर्ष
यो प्रश्न संसद््को सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षासँग एकसाथ जोडिएको छ । यो संविधान साना दुःखले लेखिएको हैन । तसर्थ, यसको रक्षा आमलोकतन्त्र र संविधानका पक्षधरको जिम्मा आएको छ । संविधानबमोजिम गठित हरेक अङ्ग र निकायका काम–कारबाही संविधानसम्मत हुन त जरुरी छ नै, त्यसका अतिरिक्त देश र जनताका हितमा पनि हुन जरुरी छ ।

(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।) 

Wednesday, June 2, 2021

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश

https://gorkhapatraonline.com/opinion/2021-06-01-38679 


खिमलाल देवकोटा
कोभिड–१९ को सङ्कट व्यवस्थापन गर्न सरकारले अध्यादेश जारी गरायो । नियमित हिसाबले भन्ने हो भने संसद्मा नीति कार्यक्रमउपर छलफल हुनुपर्ने बेलामा तर आकस्मिकतामा भन्ने हो भने संसद् विघटनको पूर्वसन्ध्यामा यो अध्यादेश जारी भएको छ । मूलभूत रूपमा यो अध्यादेश कोभिड–१९ ले खडा गरेको सङ्कटलाई व्यवस्थापन गर्नका लागि जारी भएको भन्ने देखिन्छ । सम्भावित राजनीतिक विरोधको प्रतिवाद गर्न वा कोभिड–१९ को रोकथाम गर्न यो कदम हो भन्ने कुरा भविष्यले नै बताउला ।
अध्यादेशको विषयवस्तु
अध्यादेशको प्रस्तावनामा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएकाले र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले भनिएको छ । प्रस्तावनाले अध्यादेशको औचित्य पुष्टि गर्न खोजेको देखिन्छ । यसैगरी, जम्मा परिच्छेद ६ र ४२ दफामा सङ्ग्रहित यो अध्यादेशको एकचौथाइ भाग विविधमा राखिएको छ र सो भागमा खरिद प्रक्रियालाई सहज बनाउने कानुनी व्यवस्था गरिएको छ । यसका अतिरिक्त स्वास्थ्य आपतकाल, बन्द वा नियन्त्रणको व्यवस्था, प्रतिकार्य अधिकारीका रूपमा प्रमुख जिल्ला अधिकारीलाई तोक्ने कुरा, केन्द्रीय अस्पताल, प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति, सो मातहत तर सम्पूर्ण अधिकार प्रयोग गर्ने व्यवस्थापन समिति, सुरक्षा निकायको परिचालन र दण्ड सजायको कठोर व्यवस्था यस अध्यादेशका मुख्य विषयवस्तु हुन् ।
आपतकाल घोषणा :
यो अध्यादेशको मुख्य ध्येय सामान्य हिसाबले कोभिड–१९ को सामना गर्न सकिन्न, यसका लागि आपतकालकै घोषणा गर्न जरुरी छ भन्ने प्रस्ट देखिन्छ । आपतकालको अवधिमा कुनै पनि स्वास्थ्य संस्थालाई सङ्क्रमितको निदान र उपचार गर्न लगाउने, आवश्यकतानुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने/गराउने, स्वास्थ्यकर्मीलाई जुनसुकै बेला काममा लागउने, सरकारी, सार्वजनिक, निजी स्वामित्वमा रहेका घर–जग्गा संरचना सावारीसाधनलगायतका जुनसुकै सामाग्रीको प्रयोग गर्ने, आवतजावत, यातायातलगायतका सरकारी तथा सार्वजनिक तथा निजी सबै कारोबार बन्द, नियमित गतिविधि बन्द गर्ने वा नियन्त्रणमा लिनेसम्मका कार्यहरू गर्न सक्नेगरी अध्यादेशले सरकारलाई अधिकार दिएको छ ।
आपतकाल र सार्वजनिक तथा निजी गतिविधि नियन्त्रण र बन्द गर्ने प्रयोजनका लागि प्रमुख जिल्ला अधिकारीलाई प्रतिकार्य अधिकारीका रूपमा थप अधिकार पनि सुम्पिँदै आपतकाललाई सङ्कटकालका रूपमा उपयोग गर्ने ध्येय अध्यादेशले राखेको पाइन्छ । यी सबै प्रयत्न कोभिड–१९ को नियन्त्रणका लागि सीमित हुने पनि अध्यादेशले स्पष्ट गरेको छ ।

खरिदमा सहज :
अध्यादेशको अर्को महŒवपूर्ण पाटो भनेको कोभिड–१९ सँग जुध्नका लागि गरिने कुनै पनि प्रकारका खरिदका बारेमा सहज, छिटोछरितो बनाउने, नियमित प्रक्रिया पूरा गर्न पर्ने बाध्यता हटाउने र यस्तो खरिद प्रक्रियामा कुनै पनि कानुनी प्रश्न उठाउन नपाउनेगरी अध्यादेशले व्यवस्था गरेको छ । यसका लागि सरकारले कुनै सरकारसँग वा कुनै कम्पनीसँग सोझै खरिद गर्न सक्ने, सोका लागि प्रचलित कानुनमा रहेको प्रक्रिया अवलम्बन गर्न नपर्नेगरी छुट दिलाएको छ । सामानको स्पेसिफिकेसन र दररेट पनि नेपाल सरकारले तोकेबमोजिम हुनेगरी सरकारलाई दररेट निर्धारण गर्ने सुविधा दिएको छ । प्रचलित कानुनले बढीमा २० प्रतिशतसम्म मात्र अग्रिम भुक्तानी दिन सक्ने व्यवस्था गरिआएकोमा अब यस अध्यादेशले उक्त व्यवस्थालाई निष्क्रिय पार्नेगरी सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्न कुनै जमानत राख्न नपर्ने गरी छुट दिन सक्नेगरी सरकारलाई थप अधिकार पनि दिएको छ ।
यतिमात्रै नभएर, यस प्रयोजनका लागि कुनै खरिद गुरुयोजना वा वार्षिक खरिद योजना पनि आवश्यक नपर्नेगरी छुट दिएको छ । यसका अतिरिक्त प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोभिड–१९ को रोकथाम, नियन्त्रण निदान र उपचारका लागि यस अध्यादेशबमोजिम खरिद गरिएकोमा प्रचलिन खरिदसम्बन्धी कानुनबमोजिम नभएको भनी प्रश्न उठाउन पाइने छैन भन्ने प्रस्ट व्यवस्था पनि गरेको छ ।

नयाँ संरचना
कोभिड–१९ सँग जुध्ने प्रयोजनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा महŒवपूर्ण मन्त्रालयका मन्त्रीहरू, मुख्यसचिव, प्रधानसेनापतिसमेत सदस्य र केन्द्रको प्रमुख सदस्य सचिव हुनेगरी शक्तिशाली निर्देशक समितिको व्यवस्था गरिएको छ । सो समितिमा सम्बन्धित निकायका अधिकारी र विज्ञसमेतलाई आमन्त्रण गर्न सकिने व्यवस्था पनि गरिएको छ । निर्देशक समितिको काम भने कोभिड–१९ का सम्बन्धमा नीति तर्जुमा गर्ने र नीतिगत निर्णय गर्नेछ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको परिमार्जन गरिएको छ, जसमा यसअघि उपप्रधानमन्त्रीको अध्यक्षतामा रहने गरेकोमा नेपाल सरकारले नियुक्त गरेको प्रमुखको नेतृत्वमा स्वास्थ्य सेवाका बाह्राँै तहका अधिकृतसहित सुरक्षा निकायका उक्त पदस्थ अधिकारीहरू सदस्य रहने व्यवस्था गरेर यो निकाय भने कर्मचारीतन्त्रका हातमा छाडिएको छ । एकद्वार नीतिबाट कोभिड–१९ सँग जुध्ने प्रयोजनार्थ केन्द्रीय अस्पतालको अवधारणा
अघि सारिएको छ ।

अध्यादेश टिप्पणी
सङ्क्रामक रोगसँग लड्न नेपालको कानुनी संरचना ५८ वर्ष पुरानो छ । २०२० सालमा फैलिएको बिफर उन्मूलनका लागि जारी गरिएको जम्मा ५ दफा भएको एक पृष्ठको ऐन आजका मितिसम्म पनि कायम छ । पहिलो लहरसँग सामना गर्न सरकारले त्यसैको सहारा लियो भने यसपटक पनि उक्त ऐनलाई प्रतिस्थापन गर्न सकेन ।
झन्डै दुई दशकदेखि नै विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रामक रोगसँग लड्न नेपालको कानुनी संरचना अपर्याप्त रहेको र सो संरचनालाई अपग्रेड (अद्यावधिक) गर्न गरेको आग्रहलाई आजपर्यन्त पूरा भएको छैन । यो अध्यादेश पनि कोभिड–१९ सँग मात्र सम्बन्धित रहेको र यो सङ्कट सकिनासाथ अध्यादेश निष्क्रिय हुने भएकाले फेरि पनि सङ्क्रामक रोगसँग लड्ने कानुनी संरचनासहितको रणनीतिमा नेपाल असफल नै हुने खतरा कायमै छ ।
कोरोनाको पहिलो लहर चल्दै गरेका बखत संसदीय समितिहरूले समेत नयाँ र एकीकृत कानुनको खाँचो नऔँलाएका हैनन् तैपनि छाता ऐनको अभावलाई पूर्ति गर्ने ढङ्गले अध्यादेश आउन सकेन । यो अभाव यथावत् रहने भयो । अहिलेको अध्यादेश मूलतः नियन्त्रण, बन्दाबन्दी, सेना परिचालन र प्रमुख जिल्ला अधिकारीमार्फत बल प्रयोगमा केन्द्रित देखियो । खरिदमा अत्यधिक चासो दिँदै सार्वजनिक खरिदका कुनै पनि मापदण्ड पालना गर्न नपर्ने, खरिदका बारेमा कहीँ कतै कानुनी प्रश्न उठाउन नपाइनेजस्ता अप्रिय अवस्थाले अध्यादेशको सकारात्मक
सन्देश जाँदैन ।
अध्यादेशको अर्को पक्ष, म्याद हदम्याद र अवधि व्यवस्थापनसँग सम्बन्धित छ । यो व्यवस्थाले अरू कानुनको प्रतिस्थापन पनि गर्दैन न त ती कानुनको संशोधन नै गर्छ बरु प्रचलित कानुन लागू गर्ने कुरालाई नै दोहो¥याएको छ । यस्तो अवस्थामा यति कमजोर अध्यादेशको व्यवस्थाले म्याद हदम्यादजस्तो विषय सम्बोधन गर्ने देखिन्न बरु यसकारणले भविष्यमा झमेला खडा हुने खतरासमेत देखिएको छ । दण्डको त्रासले सङ्कट व्यवस्थापन गर्नेबारेमा अध्यादेश केन्द्रित देखिन्छ । नेपालको आफ्नै अनुभवको स्मरण गर्ने हो भने पनि कठोर कानुनका भरमा सहजै सङ्कटको समाधान हुने देखिन्न न त दण्डको त्रासले नै कानुनको पालना गर्ने संस्कृतिको विकास भएको छ । यी र यस्ता मामलामा कानुन कार्यान्वयन गर्ने निकायले ध्यान पु¥याउन जरुरी छ ।
सङ्कट समाधानका आफ्नै अनुभव र विश्वव्यापी रूपमा तयार भएका मापदण्ड र उपायका आधारमा कोभिड सङ्कट समाधान गर्न प्रस्तुत अध्यादेशले थप जटिलता पैदा नगरोस् । अध्यादेशबाट देश सञ्चालन गर्ने कुरा कानुनी शासनका दृष्टिले कुनै हालतमा सही मान्न सकिन्न । तसर्थ, छिट्टै संसद्को माध्यमबाट राष्ट्रियसभाको उपयोग गरेर भए पनि एकीकृत कानुनको निर्माण गरी कोभिडसँगको युद्धलाई जित्नुको अर्को कुनै विकल्प छैन ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

नाेट : छापा संस्करणमा प्राविधिक भुलबस लेखककाे नाम अन्यथा पर्न गएकाेमा क्षमाप्रार्थी छाैं । सम्पादक

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...