Saturday, October 7, 2017

दुई ध्रुविय विश्वको सकारात्मक प्रभाव नेपाली राजनीतिमा खिमलाल देवकोटा

दुई ध्रुविय विश्वको सकारात्मक प्रभाव नेपाली राजनीतिमा
खिमलाल देवकोटा

भुमिकाः

सोभियत संघको विघटन भए पश्चात फेरि यतिवेला विश्व दुई ध्रुवको औपचारिक विघटन भै वहुध्रुवीय विश्वमा परिणत हुदै फेरि उही पुरानो चक्र दुई ध्रुवमा फर्कादै गरेकोछ । यति वेला नेपाली राजनीतिमा पनि त्यसका केही ध्रुवीयजन्य संकेत देखिन थालेकाछन् । नया संविधान जारी भएको तेश्रो वर्ष मनाएसंगै आठ दश दर्जन पार्टी निर्वाचन आयोगमा दर्ता भएकाथिए । ती मध्य करिव तिन दर्जन जति पार्टी संसदमै उपस्थित रहे । यसै वखत एका एक निर्वाचनअघिको गठवन्धन वनाउन दलहरुले तत्परता देखाएकाछन्  । एकातिर वाम गठवन्धन र अर्कोतिर लोकतान्त्रिक गठवन्धन वनेकाछन् । स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र संघको निर्वाचनको मुखमा दलहरुले प्रदर्शन गरेको गठवन्धन प्रतिस्पर्धा सवैको चासोको विषय वनेकोछ ।  यो कसरी वन्यो र यसका प्रभावहरु के पर्लान भन्ने वारेमा आकलन गर्न थालिएकोछ । संक्षेपमा समिक्षा गर्ने प्रयत्न यो आलेखमा गरिएकोछ । 

धेरै दलको कमजोर प्रस्तुति गठवन्धनको वलियो पृष्ठभुमी 

नेपाली राजनीतिको ७० वर्षको अनुभव निकै उतार चढावमा छ । यो सत्तरी वर्ष नेपाली राजनीतिले व्यवस्था वदल्न खर्चियो । राणाका विरुद्ध पंचायतका विरुद्ध हुदै राजाका विरुद्धसम्मको संघर्षसम्म आईपुग्दा एक चक्र पनि पारगरयो ।  यसले व्यवस्था वदल्ने मिशन पनि फत्ते भयो । व्यवस्था वदले पछिको संसद तिन दर्जन जति पार्टीको उपस्थितिमा लगभग एक दर्जन सरकार पैदा गर्ने अजिवको कारखाना वन्यो । जनता व्यवस्था वदल्नु के यही अवस्थाकोलागि थियो र ? भन्ने प्रश्नहरु गर्न थाले । भ्रष्टाचार, कुशासन, अनियमितता, लुट, खसोटको शासनले सान देखाउन थाल्यो । दलहरु सत्ता प्राप्तीकालागि र प्राप्त भैसकेपछि त्यसलाई टिकाउनकालागि साम दाम दण्ड भेद सवथोक गर्न थाले । जनताका सपना र आकांक्षा पुरा गर्ने कुरा केवल सपनाकै कुरा मात्रै हुन थाले । दलहरु फुटदै जाने नफुटेका दलहरु पनि जुटन नसक्ने । वाहिर एउटै दल देखिए पनि भित्र भित्रै थुप्रै गुट उपगुटहरु हुने । यसो हुदै गर्दा राजनैतिक दलहरु गिटीको थुप्रो जस्ता देखिन थाले । हेर्दा विशाल तर गति हिनताका पर्याय । यस्तो अवस्थामा सत्तामाथिको हालिमुहाली असंभवप्राय वन्दै जानथाल्यो । जनताको आस्था हराउदै जानथाल्यो । आर्थिक सम्मृद्धिको कुरा त कता हो कता । एवं प्रकारले दलहरु आफै निराश वन्दै जादा जुटनुको विकल्प छैन भन्ने निष्कर्षमा पुगे । यसकारण यो पृष्ठभुमि वलवान थियो ।

वदलिएको कार्यभार र नवदलिएको शैली नया गठवन्धनको औचित्यः 

व्यवस्था वदल्ने अभियानको मैजारो भएको छ । अवस्था वदल्ने अभियानको थालनी भएकोछ । व्यवस्था वदल्ने कुरा ध्वंसमा आधारित थियो । तर अवस्था वदल्ने सिर्जनामा आधारित हुन्छ । देश र जनताको अवस्था वदल्ने कुरा नै यतिवेलाको असली क्रान्ति हुनेवाला छ । विकास र सम्मृद्धि अवको राजनीतिको मुल मुद्दा हो । विकास र समृद्धिकालागि ध्वसंको जरुरत पर्दैन । ध्वसको साहारा लिन पनि नपाईने भएका कारणले यसकालागि संगठित शक्ति र संख्याकै शक्तिको खाचो पर्दथ्यो । यसकालागि दलहरुका वीचको गठवन्धन वाहेक अर्को विकल्प नै थिएन । अन्तिम विकल्पका रुपमा दलहरुका विचको गठवन्धन भएकोछ । यसले सार्थकता पायो भने परिणाम सकारात्मक निस्कनेछ । यसका साथसाथै राजनीति वदलियो राजनीतिक एजेण्डा वदलियो । तर दलहरु जस्ताको तस्तै रहे । यो नेपाली राजनीतिको समस्या थियो । यो गठवन्धन संस्कृतिसम्म आईपुग्दा दलहरुले आफुलाई वदलेको आभास एकातिर भिल्छ भने अर्कोतिर दलहरुले वदलिनकालागि पनि उपयुक्त वातावरणको उपयोग गरेकाछन् । दलहरु नवदलिई राजनीति हुदैन भन्ने हेक्का हुनु पनि आफैमा यो परिणामको कारक तत्व हो । यसैले वदलिएको राजनीतिले जनताको विकास र समृद्धिको चाहना परिपुर्ति गर्ने गरी काम गरे भने गठवन्धनको औचित्य सावित गर्न सफल भएको ठानिनेछ ।

पुजिवादी र समाजवादी धुरी सहितको विश्वराजनीतिको प्रभावः

आजको भुमण्डलिकृत विश्वमा नेपाल छुटटै वस्न सक्ने कुरा रहेन । दुई ध्रुविय विश्व वहुध्रुविय वन्दै फेरि दुई ध्रुवमा परिणत हुदै गए पछि नेपालको आन्तरिक राजनीतमा पनि त्यसको प्रभाव परि छाडयो । खासगरी तिनतिरवाट भारतले घेरिएको नेपालमा भारतीय प्रभाव राजनीतिमा वाक्लै परयो । भारतले राजनीतिमा मात्रै प्रभाव जमाएन हरेक मामलामा माईक्रो म्यानेजमेण्ट पनि गर्न थाल्यो भन्ने कुरा त वेला वेलामा हुने चर्चाका विषय छदै थिए । जव व्यवस्था वदल्ने कुरा थियो त्यसै मुल्यमा राजनीतिमाथिको माईक्रो म्यानेजमेण्ट पनि करिव स्वीकार्य जस्तै थियो । तर व्यवस्था वदलिईसकेपछि पनि त्यही स्तरको हस्तक्षेप विस्तारै अस्वीकृत वन्दै जान थाल्यो । यही क्रमले गति प्राप्त गर्दै गर्दा वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र आन्तरिक एकता मजवुत पार्ने आयमको विकास भयो । यही आयामका रुपमा नेपाली राजनीतिमा गठवन्धन वन्न थालेकाछन् । वाम र लोकतान्त्रिक गठवन्धन नाम दिएकाछन् ।
खासगरी भारतको हस्तक्षेपलाई अस्वीकार गर्ने हिसावले वाम गठवन्धन वन्नु र सोको प्रतिवाद गर्न अर्को लोकतान्त्रिक गठवन्धन वन्नुका पछाडि स्वयं भारतको भुमिका निर्णायक हो भन्न सकिन्छ । यी कारण मध्य पहिलो कारण भारत आफैले यस अघिको रुसी समाजवादी धुरीलाई परित्याग गर्दै अमेरिकी पुजिवादी धुरीमा लाग्नु लाई लिन सकिन्छ भने दाश्रो कारणका रुपमा आफुले धुरी परिवर्तन गरेपनि आफना छिमेकीहरु भने उही अवस्थामा रही राखुन भन्ने अर्थात आफुलाई वाहेक अरुलाई समर्थन नगरुन भन्ने चाहना राख्नु वन्न पुग्यो । वलात कोही कसैको समर्थक वन्न सक्दैन । वलात गरिएको आग्रह स्वीकार गरियोस भन्ने आग्रह पनि आफैमा जायज होईन ।
हालैमात्र नया धुरीको नेतृत्व गरेको चिनीया पक्षले विश्वभरी नै आफनो कुटनैतिक रफतार वढाएकोछ । यो संगै आफना चासोहरु आफना छिमेकीहरुमा पनि विस्तार गरेको छ । यो मेसोमा नेपालमाथिको प्रभाव उसको प्राथमिकतामा पर्ने कुरा अनौठो भएन । खासगरी नेपालमाथिको भारतीय माईक्रोमेनेजमेण्ट चिनले कहिल्यै रुचाएको छैन । आफु वास्ता नगर्ने तर भारत सानातिना कुरामा पनि आफनो प्रभाव अस्तित्व र स्वार्थ देखाईछाडने गरेकोप्रति उ कहिल्यै खुशी भएन । सायद भारतीय यही व्यवहारले चीनीया हरुलाई पनि पाईला चाल्न वाध्य वनायो । भारतीय हस्तक्षेपको प्रतिकृया दिदै गर्दा नव गठित गठवन्धन चिनीया पक्षको पोल्टामा खस्ने संभावनालाई पनि नकार्न सकिन्न । जे होस यतिवेला भारतीय माईक्रोम्यानेजमेण्टको परिणाम वाम गठवन्धन वन्न पुग्ने र आफनो अस्तित्व रक्षाकालागि प्रतिकृया नै स्वरुप लोकतान्त्रिक गठवन्धन वनाउने काम भएकोछ । यी दुई गठवन्धन एक अर्काका प्रतिस्पर्धी सम्म वनुन । तर पारीका छिमेकीको स्वार्थ सिद्ध गर्ने साधन नवनुन भन्ने कुरामा भने सचेत हुनै पर्दछ । 

सत्ता प्राप्ती र पुनप्राप्तीको रहरले पनि काम गरयोः

सत्तरी वर्षका अघिल्ला अवधि दलहरुले संघर्ष त्याग र वलिदानमा खर्च गरे पनि पछिल्ला दिनहरु भने सत्ताकै वरिपरि नै विताए । सत्ताको रस्वासादन दलका नेता कार्यकर्ता र पहुचवाला समर्थक सम्मैले पनि मज्जैले गरे । तर सत्ताको सुखभोग स्थायी वन्न संभव थिएन । विस्तारै सत्ता पर भाग्न थाल्यो । जव जनताको आस्था र विश्वासमा धमिरो लाग्न थाल्यो तव सत्ताभोग दुरुह वन्दै गयो । व्यवस्था परिवर्तन गर्न गरिएको त्याग समर्पण र वलिदान आज संझिदा पनि कहाली लाग्दो छ । अव त्यसै गर्न संभव छैन । गर्ने आट गरौ भने पनि सो को आवश्यकता छैन । सत्ताको रसाश्वादन वाहेक अवको राजनीतिको अर्को व्यापार छैन । तर त्यही चिज टाढा भाग्दैछ । यस्तो अवस्थामा एउटै उपाय हो गठवन्धनको निर्माण । यसकारण सत्ता गठवन्धन निर्माणको सहयोगी वन्यो ।

दुई ध्रुवमा विभाजन गंभिर खतराः

विश्व नै दुई ध्रुवमा विभाजन भएका वखत नेपाली राजनीति पनि दुई ध्रुवमा विभाजन हुनु कुनै नौलो कुरा होईन । तर खतरा यो हो कि कतै राजनैतिक रुपमा दुई विपरित ध्रुवमा विभाजन हुदै गर्दा देश भित्र एकापसमा सदभाव खलवलिने अर्कोतिर यो मौकाको फाईदा छिमेकीले लिने र अस्थिरता सिर्जना गर्ने हुन कि भन्ने लागेकोछ । यसका अलावा देशभित्र सदभाव कायमै भैराखे पनि विभाजित राजनीतिमा छिमेकीले औला घुसाएर आफनो स्वार्थ सिद्ध गर्ने औजार वनाउने पो हुन कि भन्ने पनि डर छ । संगसंगै छिमेकीले एक अर्कालाई जुधाउने घटिया काममा पो लाग्ने हुन कि भन्ने पनि डर छ । यिनै डर चिन्ता र चासोलाई समाधान गर्न सकियो भने दुई गठवन्धन निर्वाचन अगावै वन्नु सकारात्मक परिघटना हो । यसले साना एक दुई सिटे दलहरुले सरकार वनाउने र भत्काउने घटिया खेलको अन्त हुने अपेक्षा गर्न सकिन्छ । साथसाथै व्यवस्था वदल्न संगै लडेकै दलहरुको वाहुल्यता भएको नेपाली राजनीति देश र जनताको अवस्था वदल्नमा दुवै गठवन्धन लागि परिदिने हो भने नेपाली जनताको शान्ति र समृद्धिको चाहना पनि पुरा हुनेथियो । अहिलेलाई यति नै कामना गरौ ।

अन्तमा 

विश्व दुई ध्रुवमा विभाजन भए झै नेपाली राजनीति पनि दुई ध्रुवमा विभाजित हुनु स्वभाविक परिघटना हो । यो परिघटनाले अस्थिर राजनीति अस्थिर सरकार र अस्थिरतामा व्यथिति संचालन गर्ने धन्दावालहरुको राज हुने संस्कारको अन्त गर्दै स्थायित्व तर्फ डोराउनेछ । जसरी पनि वहुमत पुराउने र वहुमत पुराएपछि जे पनि गर्ने राजनीतिक संस्कारमा फेरवदल आउनेछ । निर्वाचन अघि वन्ने गठवन्धन मुद्दामा आधारित हुने र निर्वाचन पछिको गठवन्धन सत्तामा केन्द्रित हुने अवस्थालाई पनि ख्याल गर्ने हो भने मुद्दा केन्द्रित राजनीतिको आरम्भ भएकोमा खुशी मान्न पर्दछ । संगसंगै आपसी मान्यताका आधारमा गठवन्धन र आपसी लोकतान्त्रिक र रचनात्मक प्रतिस्पर्धाको राजनीतिले राजनीतिमा हुर्किदै गएको विकृतिको पनि अन्त गर्नेछ । अन्तराष्ट्रिय सम्वन्ध र विकासका मामलामा साझा धारणा वनाउन सके आफनो वार्गेनिड पावर पनि आर्जन हुनेछ ।  विश्वका सामु नेपाली सानको पुनरोदय हुनेछ । विकसित परिघटनालाई सकारात्मक ढंगले हेरौ र वाम र लोकतान्त्रिक गठवन्धन दुवैको सफलताको कामना गरौ । 

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...