Saturday, May 7, 2016

http://www.enayapatrika.com/2016/05/60953…

नेपाली समस्याको वैकल्पिक समाधान

नेपाली समस्याको वैकल्पिक समाधान
खिमलाल देवकोटा
 1069  32  3  1  0
यतिवेला नेपाली राजनीतिले प्रसव वेदना झेल्दै छ । मन्त्रीहरूको झुन्ड छ, सरकार छैन । राजनीतिक दलहरूको फौज छ, राजनीतिक संस्कार र संस्कृति छैन । सत्ताको उन्माद र आशक्ति दुवै छ, तर ढंग र भलिभाँती छैन । जनता छन्, जनताका स्वामी अभिभावक वा जनार्दन छैनन् । नेपाल छ, नेपालीत्व छैन । राष्ट्रवादिता नारामा छ, व्यवहारमा बिल्कुलै छैन । सत्ता साझेदार दलका प्रभावशाली नेताको भारत भ्रमणलगत्तै सत्ता उलटपुलटको खेल हुन्छ । फेरि त्योभन्दा माथिको चेक लाग्छ, एकाएक सामसुम हुन्छ । तैपनि स्वाधीनता र राष्ट्रवादको धुन बजिरहन्छ । यसैबाट प्रस्ट हुन्छ, नेपाली राजनीतिको दृष्टि क्षितिज कति साँघुरो छ र कति अल्पायु छ । सत्ताधारी भइकन पनि सत्तामा भएकाहरू ज्यान फालेर सत्ता टिकाउन र नभएकाहरू सत्ता ढलाउन लागेको परिदृश्य दुई घन्टा टिक्दैन । यो परिघटना कसैको नियतभन्दा पनि समयको प्रतिफल हो । समाज अघि बढिसक्यो तर राजनीति उही पुरानै ढर्रामा छ । जानेमानेको काम कारबाहीलाई राजनीति भनिएको छ, जुन नाटक दर्शकको मन जित्नेभन्दा पनि पात्रहरूको तुष्टिमा सीमित छ । त्यसैले वैकल्पिक राजनीतिको खाँचो टड्कारो बन्न पुगेको छ ।
आखिर जसले जे जानेको छ, त्यही गर्ने हो । यतिवेलाका मूलधारका राजनीतिक पार्टीले जानेकै विकृत संसदीय अभ्यास हो, त्यही गरेका छन् । उनीहरूमा कुनै हतासा छैन, कुनै ग्लानि पनि छैन । गल्ती जनताको हो, उनीहरू अनपेक्षित कुराको अपेक्षा गर्छन् । नेताहरूको कद, वजन र ल्याकत बुझ्दैनन् अनि साँच्चै राजनेताकै व्यवहारको अपेक्षा गर्छन् । जब त्यो चिज प्राप्त हुँदैन, उनीहरू निराश हुन्छन्, पलायनको बाटो अँगाल्छन् । जसले मूलधारका नेतामा कुनै असर नै पार्दैन । समय अनुकूलको राजनीति आजको आवश्यकता हो । समय गुज्रेको औषधिको असर शून्य भएझैँ समय घर्केका नेता र पार्टीबाट परिवर्तन सम्भव छैन । वैकल्पिक राजनीतिको आवश्यकता खट्केको छ भन्न सकिन्छ ।
वैकल्पिक राजनीतिका रूपमा नयाँ शक्ति
नेपाली राजनीतिले आरम्भको चरण अर्थात् नेपालको भौगोलिक एकीकरणको चरण पार गर्‍यो । त्यो चरण नभोगेका तर इतिहास पढेका नेताहरू भने दोस्रो चरणका उत्पादन हुन्, जो अधिकारको लडाइँमा होमिए । धेरथोर पुग–नपुग आफ्नो ठाउँमा होला । तर, उनीहरूले यो चरण गुजारे । गणतन्त्र संस्थागत गर्ने संविधान पारित भएपछि अबको चरण आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ । तर, राजनीतिको अनुभव अधिकार प्राप्तिको आन्दोलनसम्म मात्रै सीमित छ । आन्दोलन गर्ने कुरामा समकालीन राजनीति पारंगत नै छ । ध्वंसको राजनीतिका निम्ति सबैको एकसेएक अनुभव काफी नै छ तर रचनाको आन्दोलन निर्माणको आन्दोलन र आर्थिक समृद्धिको आन्दोलनको अनुभव छैन र सोचसम्मको पनि अभाव छ । अहिलेको राजनीतिको मुख्य कमजोरी यहीँनेर हो । राजनीति भौगोलिक एकीकरणको चरण र अधिकारको आन्दोलनको चरणलाई बिट मारेर आर्थिक समृद्धिको चरणमा प्रवेश गर्‍यो । आर्थिक समृद्धिको चरणमा नेपाली राजनीति प्रवेश गरेको कुरा राजनीतिक नेतृत्वलाई हेक्का भएको छैन । हेक्का भएको भए पनि सोका बारेमा पर्याप्त चिन्तन र ज्ञानको अभाव छ । त्यसैले अधिकांश मूलधारका राजनीतिक दल र नेताले जनताको समर्थन र सामीप्य बिस्तारै गुमाउँदै गएका छन् । अबको युवापुस्ता यही र यस्तै खालको राजनीतिबाट आकर्षित छैन । कर्मचारीतन्त्र यही राजनीतिको निरन्तरताका लागि नि:शर्त सेवा गर्न तयार छैन । सुरक्षा निकायले बदलिँदो परिवेशमा आइपरेका चुनौतीको सामना गर्न राजनीतिक नेतृत्वको तत्परता नदेख्दा उत्साहित छैन, बरु चिन्तित छ । वैदेशिक रोजगारीका भरमा जीवन निर्वाह गर्ने युवा जमातको विश्वास समकालीन राजनीतिले प्राप्त गर्न सकेको छैन । वैदेशिक सहायतामा टिकेको अर्थतन्त्र पुरातनको निरन्तरतामा बिल्कुल सन्तुष्ट छैन ।
राजस्वका आधार निजी क्षेत्र समयको मागलाई बुझ्न नसक्ने पुरातनपन्थी राजनीतिबाट वाक्कदिक्क भएर कहिले नो ट्याक्स आन्दोलन चलाउने भन्ने मुडमा मौका कुरेर बसेको छ । यो अवस्था असफल राष्ट्र बन्नका लागि पृष्ठभूमि तयार गर्नमा काफी छ । जुन देशको राजनीतिले समयको माग र आवाजलाई बुझ्न सक्दैन, जुन देशको राजनीतिले आफ्नै जनताको विश्वास प्राप्त गर्न सक्दैन, जुन देशको राजनीतिले आफ्ना करदाताको चित्त बुझाउन सक्दैन, जुन देशको राजनीतिले अन्तराष्ट्रिय चासोलाई ठीक ढंगले व्यवस्थापन गर्न सक्दैन, जुन राजनीतिले देश र जनताका समस्याको समाधानको सूत्र पहिल्याउन सक्दैन, त्यो देशको उन्नति अधोगति हुनु कुनै अनौठो कुरा होइन । आधा शताब्दीकै इतिहासमा यसैपटक अर्थतन्त्र शून्यमा झर्नु यसैको परिणाम हो । त्यसैले विद्यामान परिस्थितिले वैकल्पिक राजनीतिको माग गरेको छ ।
वैकल्पिक राजनीतिको आवश्यकता
वैकल्पिक राजनीतिको मुख्य ध्येय आर्थिक समृद्धि हुन जरुरी छ । आर्थिक समृद्धिको ध्येय बनाएपछि तदनुकूलको नीति नेतृत्व संगठन संस्कार र कार्यक्रमको पनि माग गर्छ । यो माग पूरा गर्न सक्ने वैकल्पिक राजनीति आजको आवश्यकता हो ।
वैकल्पिक राजनीतिको पहिलो सर्त राजनीतिमा बढ्दो अविश्वासलाई विश्वासमा बदल्नु हुनेछ । अविश्वास चरम चुलीमा पुगेको छ । राजनीति भनेकै ठगिखाने भाँडो भन्ने आममानिसको बुझाइ बन्न पुगेको छ । यसो हुनुमा आजको धरातलीय यथार्थ नै काफी छ । जे बोल्यो, त्यसो नगर्नेबित्तिकै कस्तो नेता जस्तो भन्न थालेका छन् । त्यसैले जे गर्ने हो त्यही बोल्ने, जे बोल्यो त्यही गर्ने राजनीति नै आजको परिवेशमा वैकल्पिक राजनीतिको पहिलो सर्त हो ।
सुशासन र पारदर्शिता दोस्रो सर्त हो । राजनीति सेवा होइन, पेसा बन्यो तर यस्तो पेसा जसको कुनै व्यापार छैन, व्यवसाय छैन, जागिर छैन, वैधानिक आम्दानी पनि छैन तर मासिक लाखौँ रुपैयाँ खर्च गर्ने र ऐयासी जीवन बिताउने उसको अधिकार ठान्ने गर्छ र अरूलाई भ्रष्टाचारी भएको आरोप लगाउन र पारदर्शी बन्न अर्ती र उपदेश दिन भने चुक्दैन । त्यसैले यो संस्कारमा परिवर्तन गरेर पहिला आफैँलाई पारदर्शी बनाउने राजनीतिलाई सेवा बनाउने अभियानको थालनी वैकल्पिक राजनीतिका अभियन्ताले अवलम्बन गर्नैपर्ने दोस्रो सर्त हुनेछ ।
वर्तमान समय सर्वाधिक महत्त्वको समय हो भन्ने कुरालाई आत्मसात गर्दै अतीतका बहसमा रुमल्लिने र सुदूर भविष्यका बारेमा सपना बाँड्ने तर वर्तमानमा सिन्को नभाँच्ने राजनीतिको जानेमानेको आचार व्यवहारमा परिवर्तन अपरिहार्य छ । आफ्नै जीवनकालमा परिवर्तनको अनुभूति जनताको पहिलो माग हो । यसका निम्ति वर्तमानमा गर्न सकिने कुरा र सम्भव भएको कुरा मात्रैबाट पनि थालनी भयो भने मानिस अश्वस्त हुनेछन् ।
वैकल्पिक राजनीति नारा होइन, यो त जीवन व्यवहार हो भन्ने कुराको पुष्टि नेताहरूबाटै हुन जरुरी छ । यसका लागि यसअघिको आदत, जो सर्वाधिक समय अतीतको गन्थनमा बिताउने र बाँकी रहेको समय सुदूर भविष्यबारे गर्ने र वर्तमानबारे केही नगर्ने मात्रै होइन, वर्तमानका बारेमा पनि केबल नारामा रुमल्लिने ठोस र मूर्त विषयवस्तुमा कहिल्यै प्रवेश नगर्ने आदतबाट राजनीतिलाई मुक्त गर्न सक्ने केबल वैकल्पिक राजनीतिले ल्याकत राख्नेछ । यस्तो खालको राजनीति आजको आवश्यकता हो ।
लोकतन्त्रको कुरा हामी धेरै गर्छांै तर जनताको लोकतन्त्रको कुरा हामी बिर्सन्छाँै । यदाकदा जनताले एकपटक भोट खसाल्छन् । तर, राज्य सञ्चालन गर्ने तहमा जनताको पहँुच नै पुग्दैन, जनताले छानेको व्यक्तिले राज्य सञ्चालन बिरलै मात्र गर्छ, अर्थात् जनताले एकपटक भोट हाल्छन् तर सरकार हरेक ६ महिना नपुग्दै फेरिन्छ । जनता मुकदर्शक हुनुबाहेक अर्को कुनै विकल्प रहँदैन । तैपनि हामी लोकतन्त्रको दुहाइ दिन पछि पर्दैनाँै । त्यसैले यो परम्परागत लोकतन्त्रमा जीवन सकिएको छ, त्यसैले जनताको प्रत्यक्ष सम्बन्ध हुने खालको लोकतन्त्र आजको खाँचो हो, जुन खाँचो वैकल्पिक राजनीतिले पूरा गर्नुपर्छ ।
अन्तमा
नेपाल यस्तो मुलुक हो, जसको आजसम्मको ७५ वर्षको इतिहासमा ३० वर्षे पञ्चायतको अवस्थामा समेत कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएको छैन । यसका साथै संसद्ले पनि आफ्नो अवधि कहिल्यै पूरा गर्न पाएन । गणतन्त्र आएपछि त हरेक ६/६ महिनामा सरकार फेर्ने आदत नै बसेको छ, यसैलाई क्रियाशील र गतिशील राजनीति भन्ने गरिएको छ । यो नै राजनीतिक अस्थिरताको कारक बनेको मात्रै छैन, राजनीतिप्रति वितृष्णा जगाउने मुख्य साधन पनि बनेको छ । यी र यस्तै विकृतिको समाधान वैकल्पिक राजनीति हुन जरुरी छ । त्यही वैकल्पिक राजनीतिको माग समयको माग बनेको छ । आशा गराँै नयाँ शक्तिले त्यो माग पूरा गर्नेछ र नेपाली समाजको वैकल्पिक राजनीतिका रूपमा आफूलाई विकास गर्नेछ । निराशाका बीचमा आशाको किरण छर्नेछ । राजनीतिप्रतिको वितृष्णा थोरै भए पनि कम गर्नेछ ।
- See more at: http://www.enayapatrika.com/2016/05/60953#sthash.FXOzpgCT.dpuf

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...