Tuesday, May 17, 2016

सकारात्मक परिवर्तनको अपेक्षा

सकारात्मक परिवर्तनको अपेक्षा

khim lal
खिमलाल देवकोटा

नेपाली राजनीतिले अघिल्लो साता फेरि सबैको ध्यान खिचेको थियो । यो साता भने केही शान्तजस्तो देखिएको छ । सदनमा सरकारको नीति कार्यक्रम पेश भएको छ । सत्ता फेरबदलको खेलले गर्मिएको मौसम केही मत्थर भएको त छ तर सत्तारुढ घटकमै जोड र कोणमा भिन्नताहरू छरपस्ट देखिएकै छन् । अघिल्लो वर्षको विकास खर्च जम्मा २१ प्रतिशतमात्रै भएको अवस्थामा फेरि नयाँ बजेट भाषणको तयारी भएको छ । प्रस्टै देखिन्छ पद, पैसा, सत्ता र शक्तिको भागबण्डाले प्राथमिकता पाएको छ । नयाँ संविधानको कार्यान्वयन र स्थानीय चुनावको गीत नगाउने कोही छैन तर व्यवहारमा संविधान कार्यान्वयनको चिन्ता कसैमा देखिएको छैन । यो कुराको प्रमाण संसद्मा रहेका सबै दलहरू संविधानको कार्यान्वयनमा होइन, सरकार फेर्न लागेका दृश्यहरू नै पर्याप्त छन् । 

अति भए खति हुन्छ भन्ने पुर्खाको उखान गहिरिएर बुझ्दा नेपाली राजनीतिमा सान्दर्भिक देखिन्छ । अति सर्वत्र वर्जयेत भन्ने संस्कृतको उखान पनि कम दमदार छैन । अङ्ग्रेजीमा ‘ईनफ ईज ईनफ’ अब पुग्यो भनिन्छ तर नेपाली राजनीतिको बेथितिको अन्त कहिल्यै भएन । छिटै अन्त हुने आशा पनि गर्न सकिने स्थिति रहेन । संविधानको स्वीकार्यता बढाउने, संविधान कार्यान्वयन गर्ने, भूकम्प पीडितलाई राहत र पुनर्निर्माणको काम अघि बढाउने, महँगी, कालोबजारी, तस्करी, अन्याय, अत्याचार र व्याप्त भ्रष्टाचारको अन्त गरेर सुशासनको प्रत्याभूति दिने जस्ता गम्भीर कार्यसूची मुलुकका सामु छन् तर ती कार्यसूची कार्यान्वयन गर्ने सारथिहरूको ध्यान गम्भीरता, ल्याकत र नियत अन्तै छ । त्यो अन्तै भनेको एकमात्र सत्तारोहण र फगत कुर्सी प्राप्ती हो भन्ने पटक पटक पुष्टि भएको छ । 

राजनीतिमा परिपक्वता जति महŒवको हुन्छ, कूटनीतिमा त्योभन्दा दोब्बर खाँचो पर्छ । सङ्क्रमणमा रहेको मुलुकको लागि त राजनीति र कूटनीतिमा परिपक्वता झन बढी खाँचो पर्छ । नेपालजस्तो सँधै सङ्क्रमणमा रहेको मुलुकले ढिला नगरीकन विचार पु¥याउन पर्ने कुरा भनेको देशभित्रको स्थिति नै ठीक पार्ने र छिमेकीले खेल्न नपाउने अवस्थाको सिर्जना गर्ने नै हो तर छिमेकीसँगको सम्बन्ध सुझबुझमा होइन प्रतिशोधमा आधारित देखिएको छ । लामो समयपछि जारी गरेको संविधानको स्वीकार्यता देशभित्रै आर्जन गर्ने कुरा पहिलो कार्यसूची हो । यही कार्यसूचीमा चढेर छिमेकीले लामो हात कर्के नजर गरेको कुरा पनि प्रस्ट देख्न सकिन्छ । यदि नेपाली राजनीति छिमेकीको कर्के नजर नरुचाउने हो भने उसले पहिला संविधानको स्वीकार्यता आर्जन गर्ने काम गर्नै पथ्र्यो तर दुर्भाग्य नै भनौँ त्यसो देखिएन । जति जति देशभित्रका समस्या बल्झिँदै जान्छन् त्यति त्यति विदेशीको नजर पर्दै जानेछ । जति जति विदेशीको नजर पर्दै जाला, राष्ट्रियताको नाराका आधारमा सत्ताको आयु लम्ब्याउन पाइएला वा सोही नारामा नयाँ पात्र सत्तारोहण गर्न पाइएला भन्ने प्रवृत्ति हावी भएको छ । यसरी सत्ताका लागि मुख बाएर बस्ने अवस्था देश र जनताका हितमा पनि हुँदैन । देश र जनताका लागि कदापि स्वीकार्य हुँदैन तर फरक र वैकल्पिक कोणबाट हेर्ने हो भने अवसर र चुनौती सधैँ एकै तरिकाबाट मात्रै प्राप्त हुँदैनन् । अर्थात सधैँ सकारात्मक तरिकाले मात्रै नयाँ नयाँ अवसरहरू प्राप्त हुँदैनन् । कहिले काहीँ नकारात्मक कोणबाट पनि प्राप्त हुन्छन् । कहिले काहीँ चुनौतीका स्वरूपमा पनि अवसरहरू प्राप्त भएका हुन्छन् । खाली त्यसलाई सामना गर्ने र चुम्नेमात्रै प्रश्न हो । चुनौतीलाई सामना गर्न सक्दा अवसरमा बदल्न सकिन्छ । त्यसैले नेपाल र नेपालीका निम्ति नकारात्मक कोणबाट नयाँ नयाँ सम्भावनाहरू अवसर बनेर आउँने छन् भनेर आशा गर्न सकिन्छ । परम्परागत राजनीतिले सिर्जना गरेका विकृति विसङ्गतिको पृष्ठभूमिमा नयाँ विकल्पहरू स्वभाविकरूपमा आउने छन् । पुरानाको विकल्पमा नयाँ अवसरहरू सिर्जना गर्न नयाँ सोच र दृष्टिकोणहरूको प्रष्फुटन हुनेछन् । नयाँ सोच र चिन्तनको जन्म दिने श्रेय पुराना परम्परागत विकृति र विसङ्गतिलाई नकारात्मकरूपले जानेछ । नेपालमा सही अर्थमा त्यही हुनेछ । 

विगत ७५ वर्षदेखि आरम्भ भएको गणतन्त्रको एजेण्डा पूरा भएको छ । संविधानसभाबाट संविधान बन्नु पर्ने पनि एजेण्डा पूरा भएको छ । यिनै एजेण्डा पूरा गर्न बनाइएका राजनीतिक दल तिनका नीति कार्यक्रम, सङ्गठन र सङ्गठन सञ्चालनको विधि र मानसिकतामा भने परिवर्तन आएको छैन । त्यहाँ पनि परिवर्तन आउन जरुरी छ । यो समयको माग हो । गणतन्त्र संविधानसभामा घोषणा गरेका भरमा नै आयो । संविधान पनि भोट हालेकै भरमा आयो तर राजनीतिको मानसिकता भोट हालेर परिवर्तन हुने कुरा रहेनछ । अहिले नेपाली समाजमा देखा परेको समस्या यही हो । गल्ती नेताहरूले गर्ने परिणाम देश र जनताले भोग्न पर्ने अवस्थाको सिर्जना फेरि पनि भएको छ । त्यसैले अनुभवजन्य कमजोरीका कारणबाट पनि नेपाली समाजले पुरानोको विकल्प खोज्न जरुरी छ । त्यो विकल्प पहिला राजनीतिमा खोज्नुपर्छ । 

राजनीति बाहेक पनि अरू विधाहरू ठीकठाक छन् भन्ने कुरा सही हुन सक्दैन । राजनीति मूलनीति हुनुका नाताले यी सबै विकृति र विसङ्गतिको जिम्मा उसैले लिनुपर्छ । राजनीतिका प्रभावले विकास भएका हाम्रा सबै नीतिहरूमा पुरातनपन्थी सोच र चिन्तन हावी छ । हामीले अवलम्बन गरेको विकासको मोडेल पुरानो छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा अवलम्बन गरिएको अभ्यास पुरानो छ । हाम्रा काम आदतहरू पुराना छन् । हाम्रो सोच्ने तरिका पुरातनपन्थी नै छ । जो समयको गतिसँग पटक्कै मेल खाँदैन । नयाँ पुस्ताको मनोविज्ञानसँग कतै पनि मेल खाँदैन । अनि हामी असल र सफल परिणामको आशा गर्दछौँ, समस्या यहीनेर छ । 

राजतन्त्रका विरुद्ध जनतालाई दशकौँ प्रशिक्षित गरियो । सत्ताका विरुद्ध धावा बोल्न सिकाइयो । कानुन र व्यवस्थामा अस्थिरता सिर्जना गर्न उत्प्रेरित मात्रै गरिएन बढीभन्दा बढी त्यसो गर्न सक्नेलाई प्रोत्साहन स्वरूप पद प्रतिष्ठाले पुरष्कृत पनि गरियो तर जब गणतन्त्र र संविधानसभाबाट संविधान आयो अब यो चरण सकियो भनेर कहिल्यै औपचारिकरूपमा घोषणा गरेर जनतालाई प्रशिक्षित गर्ने काम गरिएन । बरु राजतन्त्रको ठाउँ नेतातन्त्रले लिने काम भयो । जनता पनि हिजोकै ‘स्कुलिङ’मा नेता राजतन्त्रको स्थानमा फेरिँदा जनता र नेताकाबीचको टकरावमा कुनै कमी आएन । फलस्वरूप राजनीतिक मुद्दा समाधान भएर पनि संस्कार फेरिएन । पात्र फेरिए तर प्रवृत्ति नफेरिएका कारणले समस्या ज्युँका त्यँु बन्न पुगे । यस खालको प्रवृत्तिले मुलुकलाई अग्रगतिमा जान बाधा खडा गरिनै रह्यो । 
राजनीतिको बागडोर पुरानै पुस्ताको बपौतीजस्तै बन्यो । लोकतन्त्रका लागि लडेका जेलनेल खाएका नेताहरू आफ्नै पार्टी लोकतान्त्रिक बनाउन सकेनन् । आफू लोकतान्त्रिक पनि बन्न सकेनन् । जसका कारणले युवा जमात या त पुरानै संस्कारबाट प्रशिक्षित भयो या त राजनीतिबाट विल्कुलै टाढा रहन पुग्यो । राजनीति र ईमान एकैसाथ रहन सक्दैनन् भन्ने कुरा नराम्ररी स्थापित हुनपुग्यो । यस्तो अवस्थामा राजनीतिले मुलुकलाई ठीक दिशामा डो¥याउने नैतिक बल र साहस दुवै भएको पाइएन । यो सङ्कट टार्न पनि नयाँ विकल्पको खोजी अपरिहार्य नै भएको छ । 

संसारमै युवा बहुमतमा भएको देश नेपाल हो । संसारकै अविकसित र संसारकै सबैभन्दा बढी युवा वैदेशिक रोजगारीमा पठाउने देश पनि नेपाल नै हो । विदेशिएका युवाले पठाएको विप्रेषणमा तलब भत्ता खान बाध्य भएको छ सत्ता । तैपनि देशभित्रै रोजगारी सिर्जना गरेर यो समस्याको हल खोज्नेतर्फ ध्यान गएको छैन । विदेशिएका युवाको दैनिक तीन देखि चार जनाका दरले आउने उनीहरूको लाशको पनि ठीक व्यवस्थापन गर्न सकेको छैन । तैपनि कहीँ पश्चाताप गर्न परेको छैन । यस्तो अवस्थाको निरन्तरता लामो जानै सक्दैन । त्यसैले पनि विकल्प अपरिहार्य नै बनेको छ । फेरि पनि नकारात्मक चित्रका पृष्ठभूमिमा सकारात्मक सम्भावनाहरू देख्दै अघि बढ्नुको अर्को कुनै विकल्प छैन । नकारात्मकको विकल्प सकारात्मक नै हो । पुरातनको विकल्प नुतन नै हो । विकृति विसङ्गतिको विकल्प सदाचार र सुशासन नै हो । पुराना शक्तिको विकल्प पुरानै हुनै सक्दैन नयाँ शक्ति नै हो । सबैलाई बदलौँ, बदलिउँ र नयाँ बनाउँ र नयाँ बनौँ । सदाचार र सुशासनको खोजीमा जुटौँ । सबै नीतिको मूल नीति राजनीतिमा पारदर्शिता र सदाचारसहित नविनताको खोजी गरौँ । यही सत्कार्यका लागि अहिलेको समयको सदुपयोग गर्नु हामी सबैको कर्तव्य ठानौँ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...