Friday, May 9, 2014

पार्टी फुट्दैन, महाधिवेशनमा जान्छ : देवकोटा

पार्टी फुट्दैन, महाधिवेशनमा जान्छ : देवकोटा
विराटनगर सम्मेलनपछि एमाओवादी झन् झन् विवाद र किचलोमा फस्दै गएको छ । पार्टीको केन्द्रीय कमिटि निर्माणका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पक्षपातपूर्ण र हचुवाको भरमा दस्तावेज निर्माण गरेको भन्दै डा. बाबुराम भट्टराईसहितको एक समूहले सम्मेलन नै बहिस्कार गर्दै केन्द्रीय कमिटिमा नबस्ने घोषणा गरेको छ । एमाओवादीमा बढ्दै गएको विवाद र यसको समाधानको पाटोलगायतका विषयमा सम्मेलन बहिस्कार गर्नेमध्येका एक नेता खिमलाल देवकोटासँग लुम्बिनी टाइम्सका लागि कान्ति चुँदालीले गरेको कुराकानी ।
विराटनगर सम्मेलन अगाडिसम्म वैद्य माओवादी तथा अन्य वामपन्थीहरुसँग पनि एकताको प्रक्रियामा जाने कुरा गर्दै हुनुहुन्थ्यो अहिले आफै–आफै नै मिल्न सक्नुभएन । नयाँ पार्टी खोल्ने कुरा समेत सार्वजनिक हुन थाले, पहिले देखि नै योजनाबद्ध ढंगले सम्मेलन बहिस्कार गरिएको हो ?
पार्टीको राजनीतिक दस्तावेज केन्द्रमा छलफल नगरी आयो, जुन पहिले नै तयार भएर केन्द्रमा छलफल भएर मात्र आउनुपर्ने थियो । तर त्यस्तो भएन । अध्यक्ष कमरेड प्रचण्डले एकलौटी रुपमा व्यक्तिगत दस्तावेज लिएर आउनुभयो, जहाँ वैद्यसँग पनि मिल्ने र एमालेसँग पनि मिल्ने कुरा अगाडि सार्नुभयो । जुन कुरा अस्वाभाविक थियो किनकि त्यहाँ मूल सार नै थिएन । बदलिएको समाजअनुसार विचार पनि अपडेट गर्नुपर्ने हुन्छ, तर हामीकहाँ त्यस्तो चलन छैन, दस्तावेजमा सुझाव, सल्लाह लिने, स्वीकार्ने चलन पनि छैन, त्यसैले यस्तो भएको हो । मिल्न नसकेको भन्दा पनि हामी बदलिएको समाजअनुसार अपडेट हुनुपर्छ भनेका छौं, त्यो हुन नसक्दा बहस मात्र पैदा भएको हो । जहाँसम्म पार्टी नै नयाँ खोल्ने भन्ने कुरा छ, त्यसो होइन, पार्टी फुटाउने र नयाँ पार्टी खोल्ने भन्ने कुरा सत्य होइन । हामी पार्टी पुनर्निर्माण गर्ने भन्ने कुरामा जोड दिएका छौ । केही समय पहिले बाबुरामजीले सम्मेलनपछि नयाँ शक्तिको रुपमा पार्टी अगाडी आउँछ भन्नुभएको थियो । त्यसैले पनि धेरैले नयाँ पार्टी खुल्न लागेको हो की भन्ने आशंका गरेका थिए । तर त्यसो होइन । बाबुरामजीले यही पार्टी नै एकीकृत र नयाँ शक्तिको रुपमा अगाडि बढाउने भन्नुभएको हो, बुझाई गलत हुन गएको मात्र हो । यही पार्टीलाई पुर्ननिर्माण गर्ने भनेको हो ।
बाबुराम भट्टराईको पारिवारिक भनिएको चीन भ्रमण पनि नयाँ पार्टी खोल्नका लागि पूर्वतयारी हो भन्ने कुरा आएको छ नि, चीनका कम्युनिष्ट नेताहरुसँग छलफल गर्नका लागि भ्रमण केन्द्रीत हुन्छ भन्ने जस्ता कुरा के हुन् ? 
बाबुरामजीको भ्रमण डेढ महिना अगाडि नै तय भैसकेको भ्रमण हो । चीनियाँ सरकारको निम्तोमा पूरा परिवारसहितको भ्रमण हो यो । चीनियाँ सरकारको नै निम्तोमा गइसकेपछि भेटघाट, छलफल त भैहाल्छ । नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर पनि छलफल भएको छ । अरुहरु व्यक्तिगत भ्रमण भनेपछि घुम्ने, रमाउने मात्र सोच्दछन् तर उहाँले नेपाली क्रान्तिलाई अगाडि बढाउन के गर्न सकिन्छ भनेर चीनबाट सिकेर आउदैहुनुहुन्छ । साथै, उहाँ मानसरोवर पनि जानुभयो । उहाँको वृद्ध बुवा पनि सँगै जानुभएको छ । उहाँको आर्कषणको केन्द्र पनि भयो मानसरोवर । पर्यटकीय क्षेत्रको रुपमा घुम्न मात्र जानुभएको हो त्यहाँ । यसरी तपाईले भनेजस्तो पार्टी खोल्ने छलफलका लागि होइन, बरु नेपाली क्रान्ति के कसरी अगाडि बढाउने भन्ने बारे केही पाठ सिक्न भने अवश्य हो ।
त्यसो हो भने, यति धेरै हंगामा के का लागि गर्नुभएको तपाइँहरुले, जहाँ छलफलबाट विवाद समाधान गर्न सकिन्थ्यो, राष्ट्रिय सम्मेलनमा नबसेर सम्मेलन नै वहिष्कार गरेर बाहिरिनुभयो, अनि केन्द्रीय समितिमा पनि बस्दैनौं भन्दैहुनुहुन्छ, तपाइँहरुको मुख्य असन्तुष्टि के हो ? कि पदमा भागवण्डा नमिलेर हो ?
पहिलो कुरा त हामीले बन्दसत्र बहिष्कार गरेको होइन । अर्को कुरा भागवण्डा नमिलेको पनि होइन । यदि भागवण्डा नै भएको भए त हामीले हामीलाई यति चाहियो उति चाहियो भनेर भन्थ्यौं होला, तपाइँहरुले थाहा पाइहाल्नुभयो, हामीले त्यो पनि भनेनौं । हामी पदमा नबसेरै पनि जिम्मेवारी पूरा गर्छौं भनेका र्छौं । पार्टी पूनःनिर्माण गर्ने भन्ने तर पूरानै केन्द्रीय समितिबाट १ सय ५१ सदस्यीय बनाउने कोशिस गर्ने, नाम फरक पारेर केन्द्रीय समितिलाई नै केन्द्रिय परिषद् आदि आदि नाम दिएर यथास्थितिलाई नै निरन्तरता दिने काम भयो । हाम्रो असन्तुष्टि त्यसमा हो । पार्टी पुनःनिर्माण हुने स्प्रीट नबनेकोले हामी बाहिरिएका हौं । अर्को कुरा, युद्धकालमा युद्धका निम्ति पार्टी निर्माण गर्यौ । तर युद्धकालबाट शान्तिकालमा आउँदा शान्तिकालमैत्री पार्टी बनाउन सकेनौं । संविधानसभाको दोश्र्रो चुनावमा पनि युद्धकालको पार्टीलाई चुनावकालीन पार्टी बनाउन नसकेरै हार व्यहोरेको कुरा हामीले स्वीकारीसकेका छौं । र, अहिले पनि शान्तिकालमैत्री पार्टी बनाउन हामी चुक्यौ । तेस्रो कुरा, विश्वका कम्युनिष्ट पार्टीमा पनि र नेपाली कम्युनिष्ट पार्टीमा पनि केही विचार बहस गर्न थाल्यो भने पाटी फुटाउन थाल्यो भनेर प्रतिक्रियावादीले हल्ला फैलाउन थाल्छन् तर त्यो सहि होइन । हरेक पार्टीमा विचार बहस भन्ने कुरा भैरहन्छ ।
चौथो कुरा, देशभरिका पार्टी कार्यकर्ताहरुलाई बोलाएर सम्मेलन गरियो । राज्यसमिति सदस्यलाई जिल्लामा तथा जिल्ला सदस्यलाई गाउँ कमिटिमा झारियो, तर केन्द्रमा बसेका भने त्यही पदमा बस्नुपर्छ भन्ने भाव सबैमा भयो । यो वा त्यो नाममा केन्द्रमै टाँसिरहने प्रवृद्धि हावी भयो । तर तल्लो तह सप्रिएन भनेर तल गाली गर्ने पनि गरियो यो अलिक चित्त नबुझ्दो कुरा भयो नि । त्यसैकारण हामीले त्यो कदम चाल्न बाध्य भएका हौं । हामी संगठन बिगार्ने हैन कि सपार्ने मार्गमा पार्टी अघि बढाउनुपर्छ भन्ने मान्यता राखेका छौं ।
तपाईहरु पदमा नबस्ने भन्दै हुनुहुन्छ ? पदमा नबसी कसरी पार्टीलाई राम्रो बनाउन वा तपाइकै शब्दमा पार्टीलाई सपार्न कसरी सकिन्छ ?
हो, विश्व कम्युनिष्ट पार्टीमा पनि र नेपाली कम्युनिष्ट पार्टीमा पनि सबै कुरा पदले नै जान्दछ भन्ने अवधारणा विकास भएको छ । यहाँ पदले नै पैसा, मानसम्मान, ज्ञान बुद्धि सबै पदले दिन्छ भन्ने धारणा सबैमा छ । तर त्यसो होइन पद नभइ पनि पार्टीकोे लागि काम गर्न सकिन्छ भन्ने कुरा हामी देखाउदैछौ । पद नभए पनि यो हाम्रो पनि पार्टी हो । पार्टी पुर्ननिर्माणको लागि काम गर्छौ । अहिले हामी केन्द्रिय समितिमा पनि बस्दैनौ ।
एउटा पक्ष तपाइँहरुलाई पनि समेटेर लैजान्छौं भन्छ, तपाइँहरु जाँदैजाँदैनौं भन्नुहुन्छ, यस्तो अवस्थामा अब पार्टी सुध्रिन वा क्रान्तिको बाटोमा अघि बढ्न संभव छ ? 
हामी पार्टी पुनःनिर्माणको प्रक्रियामा छांै । अब हामी विशेष महाधिवेशन गर्छौं । त्यो बेला समग्र वैचारिक, राजनीतिक, सांगठनिक विश्लेषण गरेर पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनेछौं । विचार र संगठनलाई अपडेट गरेर बदलिदो समाजअनुरुपको पार्टी बनाउछौ । बदलिदो समाजअनुसार अघि बढ्न र पार्टीमा परिवर्तन ल्याउन कसैले रोक्ने कुरा हैन, र यो रोकेर रोकिदैन पनि । हामी आफ्नो विचारमा अडिग छौं ।
सम्मेलन अगाडि पनि यही कुरा भन्नुहुन्थ्यो, अब विशेष महाधिवेशनपछि पार्टी पुनःनिर्माण भई नयाँ दिशामा अगाडि बढ्छ भन्नुहुन्छ, त्यसका आधारहरु के के हुन् ? 
होइन, अघिल्लो चुनाव हारेपछि पार्टीमा १५ दिन सम्म छलफल भयो । पार्टी विघटन भैसकेको छ, यस्तो पार्टी लिएर चुनाबमा जादाँ हार बेहोरियो, अब फेरि पुनःनिर्माण गर्न नसके पार्टीको कार्यभार पूरा गर्न सकिदैन भन्ने कुरा भएको थियो । अब विचार र संगठनमा अपडेट गर्नुपर्छ भनेरै राष्ट्रिय सम्मेलन भएको हो । तर सम्मेलनबाट त्यसो हुन सकेन । अब त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नैपर्छ । त्यसका लागि विशेष महाधिवेशन गर्नुपर्छ । समाजवादी क्रान्तिका लागि आवश्यक पर्ने कार्यनीति, र हेटौडा महाधिवेशनले तय गरेको सांगठनिक सिद्धान्तको विकास गर्न नयाँ विचार र संगठनको खाका तयार गर्छौं । अब विचार र संगठन दुवैमा अपडेट हुनुपर्ने बेला आएको छ । विशेष महाधिवेशनको तयारी आजैबाट गर्छौं । सांगठनिक, वैचारिक, राजनीतिक तयारी गर्छौ ।
त्यसो भए, विशेष महाधिवेशन कहिलेसम्म हुन्छ त ?
विशेष महाधिवेशनको मिति त राष्ट्रिय सम्मेलनले नै तोक्नुपर्ने हो, तर त्यसो हुन सकेन । अब केन्द्रिय समितिले नै मिति तय गर्ला । तर १ वर्ष भित्रमा विशेष महाधिवेशन गरेर उत्पन्न विषयवस्तुको हल गर्नुपर्छ । सम्मेलनमा अध्यक्षले राजनीतिक दस्तावेज तयार पार्नुभयो । तर त्यसको खाका अन्तिम दिनसम्म पनि थिएन । तर अब त्यस्तो हुदैन । सबैले राजनीतिक तथा सांगठनिक खाका तयार गरेर खाका सहित महाधिवेशनमा जान्छौ । यथास्थीतिलाई निरन्तरता दिदैनौं र त्यहाँबाट रित्तो फर्कने कुरा पनि हुदैन । विशेष महाधिवेशन भएन संगठन र विचार यथास्थीतिबाट माथि उठेन भने पार्टी विर्सजनमा पुुग्छ, त्यसैले पनि पार्टी विर्सजन हुनुअघि नै विचार र संगठनमा अपडेट गर्न विशेष महाधिवेशन गर्नुपर्छ ।
- See more at: http://www.lumbinitimes.com/sambad/khimlal-devkota-interview/#sthash.Oh4Rcc1z.dpuf

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...