Saturday, March 29, 2014

http://www.onlinechautari.com/2014/03/16162

http://www.onlinechautari.com/2014/03/16162

पार्टी पुनर्निर्माणको प्रश्न र क्रान्तिकारीहरुको दायित्व

खिमलाल देवकोटा
विषय प्रवेशः
गत माघमा २ देखि १८ सम्म बसेको केन्द्रिय समितिको वैठकदेखि एकिकृत नेकपा(माओवादी) गम्भिर पार्टी पुनःनिर्माणको अभियानमा छ । अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको र केन्द्रिय समितिले पारित गरेको सो दस्तावेजमा उल्लेख भएको पार्टी पुनःनिर्माण भनेको सामान्य रुपान्तरण वा टालटुल सुधार हैन । पार्टी पुनःनिर्माण भनेको पार्टीको संगठनमा देखिएको गतिमन्धतालाई तोड्दै जनवादी क्रान्तिका बाकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको आरम्भ गर्ने हो भन्ने महाधिवेशनको भावलाई पकड्ने हो भने पार्टीको विचार, संगठन र कार्यशैलीमा विकास गर्ने हो । तीव्र रुपमा विकास हुँदै गरेको नेपाली समाजको यो परिवेशमा पुरानै विचार, पुरानै संगठन र पुरानै नेतृत्व वा नेतृत्व संचालन विधिले समाजको अपेक्षा पुरा गर्न सक्दैन । यसो हँुदा आन्दोलनले मागेको अपेक्षा पुरा गर्नका खातिर विचारमा विकास गर्ने कुरा नै प्रमुख कुरा हो । विकसित विचारका आधारमा सो विचार बोक्न लायक संगठन निर्माण गर्ने कुरा र तत्कालिन आवश्यकतालाई परिपुर्ति गर्न लायक नेता तथा कार्याकर्ताको जीवन शैलीको विकास आजको आवश्यकता हो । यसै भाव भूमिमा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सार्वजनिक गर्नुभएको नयाँ शक्तिको खाँचो बारेको वहसले पनि निकै चर्चा पाएको छ । गैर माक्र्सवादी गैरक्रान्तिकारी वा यस्तै आपेक्षा जस्ता ध्वंसात्मक वहसलाई छाडेर अधिकांश वहसहरु रचनात्मक आशा जगाउने तथा पार्टी आन्दोलनको र मुलुककै अकर्मण्यतालाई तोड्ने संकेतहरु देखिएका छन् । यो नै यतिवेलाको खुशीको कुरा हो ।
नेपाली धर्तिमा प्रयोग गर्न सकिने माक्र्सवादको विकास यतिवेलाको खाँचो
नेपाली समाज यतिबेला संघीय लोकतान्त्रिक, गणतान्त्रिक समावेशी र धर्मनिरपेक्ष बनेको छ । त्यसैले नेपाली समाज विगत ६० वर्षदेखि भनिँदै आएको अर्धसामन्ती रहेन बरु पुँजीवादी चरणमा प्रवेश ग¥यो । यसो हुनासाथ क्रान्तिका कार्यनीति र रणनीतिमा विकास गर्न जरुरी भई नै हाल्यो । यसरी विचारमा विकास गर्ने कुरा गर्दा २०औं शताब्दी समाजवादको रक्षात्मक स्थितिको आंकलन गर्न जरुरी छ र त्यसमा भएका कमीहरुलाई पहिचान गर्दै तिनलाई हटाउने अभियानमा लाग्न जरुरी भएको छ । यसो गर्दा लेनिनका पालामा एकदलिय प्रणाली माओका पालामा आउँदा सहयोगात्मक वहुदलिय पद्दतिको विकास भैसकेको थियो भने आज हामी प्रतिस्पर्धात्मक वहुदलिय पद्दतिलाई स्वीकार गरेका छौं र भन्ने गरेका छांै कि यतिबेला लेनिन बाँचेको भए यसै गर्ने थिए । त्यसो हो भने यतिवेला माक्र्स बाँचेका भए समाजवादको मोडेल कस्तो बनाउँथे होला भन्ने स्तरमा सोचेर विचारको मन्थन गर्न जरुरी छ । सायद माक्र्स २०आंै शताब्दीमा मात्रै पनि बाँचिरहेका भए समाजवाद ढल्न दिने थिएनन् होला । आज उनी भएका भए समाजवादको मोडेल २० औ शताव्दीको जस्तै हुनपर्छ नभए गैरमाक्र्सवादी भईन्छ भन्नेहरुलाई जवाफ दिन्थे होला । आज कार्ल माक्र्स छैनन्, उनका विचारका श्रृंखलाका आधारमा सामजवादको विकास गर्दै अघि बढ्नुको हामीसंग अर्को कुनै विकल्प छैन । आजको नेपाली समाज समाजवादी क्रान्तिको पर्खाइमा छ । त्यसो हो भने हेटौडा महाधिवेशनवाट पालुंगटारतिर फर्केर हैन काठमाडौतिरै फर्केर विचारको विकास गर्नका लािग बहस संचालन गर्न जरुरी छ ।
संगठनात्मक पद्दतिमा विकास:
विचार अनुकुलको संगठनका बारेमा माओले असाध्यै जोड गरेको विषय हो । विचार विकसित भइरहने विषय मान्ने संगठन यथावत राख्ने काम भयो भने त्यसले क्रान्तिको आवश्यकतालाई पुरा गर्न सक्दैन भन्ने कुरा भनिरहनै पर्दैन । यद्यपी कम्युनिष्ट आन्दोलनकै विरासत स्तालिनकालिन माक्र्सवादले विचारभन्दा संगठनलाई महत्व दियो संगठन बलियो भयो भने विचारको व्याख्या जसरी पनि गर्न सकिन्छ भन्दै बरु विचार बदल्ने संगठन नबल्ने गल्ती ग¥यो त्यसले माक्र्सवादको विकासमा नै धब्बा लाग्ने गरी धक्का पनि खायो । हामी पनि त्यो नकारात्मक परिघटनाबाट पाठ सिक्दै बेलैमा आफूलाई सच्याउन सकेनौ भने हामीले समयको माग र आवश्यकतालाई परिपूर्ति गर्न सक्दैनौ । हामी यतिबेला नयाँ ढंगको संगठनको निर्माण गर्दैछांै यसका लागि क्रान्तिको मार्गचित्र स्पष्ट भएको रणनीति कार्यनीति र कार्यदिशाका आधारमा संगठन वनाउनु पर्छ, पुरानै आधारमा हैन । संगठन संचालन विधिमा विकास गरेर आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने विधि सहितको संगठन अहिले चाहिएको छ । औपचारिक लोकतन्त्र जस्तै निर्वाचनको मात्रै मञ्चन गरियो भने संसदीय निर्वाचनबाट प्राप्त हुने औपचारिक लोकतन्त्रमै पाटीलाई बिसर्जन गर्ने खतरा हुनेछ यसबाट बच्दै नयाँ संगठनात्मक विधिको विकास गरेर नयाँ विचार बोक्नलायक संगठन आजको आवश्यकता हो ।
कार्यक्रमिक नारामा विकास:
विचार समयानुकुल हुने संगठन पनि सोही विचार बोक्न सक्षम हुने तर नेता कार्यकर्ता र जनताको आचरण व्यवहार पुरानै रहने भयो भने नयाँ कार्यक्रम जीवन व्यवहारमा लागु गर्न सकिदैन । यस्तो अवस्था भनेको झन् बढी पिडादायक हुने गर्दछ । नयाँ कार्यक्रमिक नाराको विकास गर्ने कुरा भनेको पुरानोलाई छाड्ने भनेको हो । पुरानो आदतको दासताबाट नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनताको पंक्तिसम्मलाई पनि मुक्त हुने भनेको हो । आफ्नै पुराना र गलत प्रमाणित भइसकेका आदतहरुबाट मुक्त हुन नसक्ने पंक्तिले आफै मुक्ति प्राप्त गर्न पनि सक्दैन र अरुलाई मुक्ति दिलाउने काम पनि गर्न सक्दैन । समाज बदल्ने अभियानमा लागेकाहरु पहिला आफैलाई बदल्नुपर्छ भन्ने भनाई र अरुलाई जित्न र बदल्न सजिलै सकिन्छ तर आफैलाई बदल्न र जित्न निकै कठिन हुन्छ भन्ने भनाई यो सन्दर्भमा झन् बढी सान्दर्भिक हुनेछ । हिजोका गलत आदत जो प्रमाणित पनि भैसके जसले पार्टी र आन्दोलनले ठूलो धक्का पनि खाईसक्यो । त्यसलाई पनि छोड्न नसक्ने हो भने र नयाँ बनाउने आँट नगर्ने हो भने अबको क्रान्तिको नेतृत्व गर्ने कुरा कोरा कल्पना मात्रै हुनेछ तसर्थ विगतको गलत प्रमाणित भैसकेको आदतबाट मुक्त गर्ने कुरा यो आजको पहिलो कार्यसूचि बन्नुपर्छ । पार्टी पुनःनिर्माणको थालनी पनि यहीबाट हुन्छ । गुट उपगुट र किचेन क्याविनेट नेतृत्वको घेरावन्दी र आलोक प्रवृत्ति पार्टी पुनःनिर्माणका वाधक तत्वहरु हुन् । यिनका विरुद्ध निर्मम भएर लड्ने संकल्प बिना पार्टी पुनःनिर्माण संभव छैन भन्ने सत्यलाई आत्मसात गर्दै अघि बढेर मात्रै भावी कार्यभार पूरा गर्न सकिन्छ ।
जनसम्बन्धको विकास वारेः
कम्युनिष्ट भएको दुनियाँ बुझेर त्यसमा पनि माओवादी भएको त सर्वश्रेष्ठ नै भएर त्यसैले अब हामीले जे देख्छौ त्यही सत्य हो, हामीले जे जान्छौ त्यही तथ्य हो र हामीेले जानेको र सोचेको वाहेक दुनियाँ चल्नै सक्दैन भन्ने दम्भले जनतासँंगको सम्बन्धमा गम्भिर उल्झन पैदा ग¥यो यसैका कारणले विगतको चुनावमा हामी ४० बाट १४ प्रतिशतमा झर्न बाध्य भयौं । जनतातर्फ फर्कने हैन नेतातर्फ फर्कने जनता के भन्छन् हैन, नेता के भन्छन् भन्ने जनताको अशिर्वाद हैन नेताको आशिर्वादमा आफ्नो भविश्य सुरक्षित ठान्ने गल्ती विगतमा भएको हो यसलाई बदल्न तयार हुने कि नहुने यही यक्ष प्रश्न हो । यो पाटी पुनःनिर्माणको पूर्व शर्त पनि हो । यो शर्त पालना गर्न तयार भए मात्रै माओवादी आन्दोलनको भविष्य उज्जल छ ।
गुमेको विश्वास आर्जन गर्ने:
माओवादी आन्दोलन यतिबेला विघटनको प्रकृयामा छ । यतिबेलाको माओवादी आन्दोलन पुनःनिर्माण र पुनःसंगठित गर्ने प्रयोजनका लागि विघटन अनिवार्य जस्तै थियो । आफै यो विघटन नभएको भए विघटन गर्न कठिन हुन्थ्यो होला । त्यसकारण यो राम्रो अवसर पनि हो । यही प्रक्रियामा गुमेको विश्वास गुमेको साख र गुमेको शक्ति पुन आर्जन गर्ने अभियानको श्रृंखला बनाउन सकियोस् । यो पार्टी पुनःनिर्माणको अभियानलाई भन्ने नै यस पटकको ध्येय हुनुपर्छ । पार्टी आन्दोलन विघटनमा चिन्ता हैन पुनःनिर्माण गर्ने अवसरका रुपमा लिन जरुरी छ । विरलै प्राप्त हुने यस्तो अवसर माओवादी आन्दोलनका लागि यस पटक प्राप्त भएकै छ । यसलाई बिना कुनै आग्रह सदुपयोग गर्न सकियो भने फेरि माओवादी आन्दोलनले पुनःर्ताजकी प्राप्त गर्नेछ ।
दुनियालाई हेर्ने कुराः
माक्र्सवाद सामाजिक विज्ञान हो । यो समाजमा लागु हुन्छ । नेपाली समाजमा लागु हुने विज्ञानको डिजाईन नेपाली वैज्ञानिकहरुले नै गर्न जरुरी छ । यसो गर्दा विश्वव्यापी रुपमा सोच र स्थानीय रुपमा गर (Think Globally and Act Locally) भन्ने सुत्रलाई आत्मसात गर्दै अघि बढ्दा यतिबेलाको ठोस परिस्थितिको ठोस विश्लेषण के हो ? यतिबेला नेपाली धर्तिमा लागु हुने माक्र्सवाद के हो ? हाम्रो वैरी साम्राज्यवादको आकार योजना र लक्ष्य के छ ? त्यससँंग लड्ने र विजय प्राप्त गर्ने हाम्रो सर्वहारा वर्गको अवस्था र स्थिति के छ ? सर्वहारा वर्गको अगुवाईमा समाजवादी क्रान्तिमा साथ दिने मध्यवर्ती तप्काको अवस्था र स्थिति के छ ? भन्ने कुराको सांगो–पांगो अध्ययन र आकलन गर्दै क्रान्तिप्रतिको विश्वास पैदा गर्दै फेरि एकपटक पहलकदमी लिने कुरा नै यतिबेलाको खाँचो हो ।
अन्तमाः
द्वन्द्वात्मक भौतिकवादी हुने तर एकमनावादी र संकिर्णता अझै रहस्यवादी मानसिकताका साथ आफूलाई सदैव प्रस्तुत गर्ने शैली क्रान्तिकारी आन्दोलनको पहिलो शत्रु हो । अग्रगामी परिवर्तको कुरा गर्ने विचारको विकासलाई गैरक्रान्तिकारी देख्ने प्रवृति क्रान्तिकारी विचारको विकासको वाधक हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने नगर्ने वा सो गर्न डराउने प्रवृत्ति माक्र्सवाद विरोधी प्रवृत्ति हो । यी र यस्तै गलत प्रवृत्तिहरुवाट जोगाउँदै क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु क्रान्तिकारीहरुको दायित्व हो यसो गर्न सकिएन र गलत प्रवृत्तिको हातमा वा कव्जामा पार्टी संगठन रहीराख्यो भने पार्टी संगठन र आन्दोलन विघटन र विसर्जनमा जाने निश्चित छ । यसो भयो भने तिक्डम गरेर भए पनि गलत प्रवृत्तिले पार्टीमा हैकम जमाउने कुराको दीर्घजीवनको पनि कल्पना गर्न सकिदैन । आखिर त्यो ढिलो वा चाँडो विसर्जनमा नै जाने हो । तसर्थ गलत प्रवृत्तिले तिक्डमवाजी गरेर कब्जा गरेपनि वा सही विचारको विकास गरेर पार्टी संगठनको नेतृत्व गर्न सकिएन भने विघटनलाई र विसर्जनलाई रोक्न सकिने छैन । बैलैमा सचेत बनौं ।
khimlaldevkota@gmail.com


No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...