झन्डै दुई हजार वर्षपहिला रोमन सम्राट मार्कुस औरेलुसले मानिसका भनाइ र दृष्टिकोणहरूका बारेमा भनेका थिए– हरेक चीज हामी सुन्छौँ, त्यो तथ्य हैन, विचार हो, हरेक चीज हामी जे देख्छौँ त्यो दृष्टिकोण हो, सत्य होइन । आजपर्यन्त मानिस त्यही समस्याबाट ग्रसित छन् । हामी सत्य र तथ्य हैन, आग्रहपूर्ण दृष्टिकोण र विचारहरूमात्रै सुनिरहेका छौँ, तब सत्य र तथ्य ओझेल परेको छ । यस्तो अवस्थाको सिर्जना हुँदा सिङ्गो समाज, राजनीतिक पार्टी र सरकार दिशाविहीन बन्न कसैले रोक्न सक्दैन । नेपाली समाज आज यही समस्याबाट आक्रान्त छ ।
यो पनि सत्य हो कि नेता र तिनले नेतृत्व गरेको आन्दोलन स्वतन्त्रताको मागविना सफल हँुदैनन् । त्यसैगरी दबाबविना कुनै सफल राजनीतिक सङ्क्रमणको व्यवस्थापन पनि सम्भव छैन । जसरी स्वतन्त्रताको माग आन्दोलनको अपरिहार्य तŒव हो, त्यसैगरी दबाब राजनीतिक सङ्क्रमण व्यवस्थापनको हतियार नै हो । विरोधीका विरुद्धको आन्दोलन र नेतृत्वप्रतिको दबाबविना राजनीतिक सङ्क्रमण पनि सम्भव छैन । अमेरिकी मानवशास्त्री मार्गरेट मिडका अनुसार विचारशील र प्रतिबद्ध नागरिकको प्रयत्नले चाहे त्यो सानै समूह किन नहोस्, परिवर्तन सम्भव छ भन्ने आजसम्मका घटनाक्रमहरूले पुष्टि गरिसकेका छन् । तसर्थ, विचार र विचारप्रतिको प्रतिबद्धता परिवर्तनको पूर्वसर्त हो । उनी थप्छन्– सामाजिक परिवर्तन र सङ्क्रमणको व्यवस्थापन मानिसको धैर्यतामा निर्भर छ ।
आज नेपाली समाज सङ्क्रमण व्यवस्थापनको प्रसव पीडा सामना गरिरहेको छ । महात्मा गान्धीले भनेका छन्– भविष्यको निर्धारण वर्तमानको कर्मले निर्धारण गर्छ । हो, असल भविष्यको कामना गर्दछौँ भने वर्तमानमा असल कर्म गर्नुपर्छ । अत्यन्त पीडायुक्त रक्तपातपूर्ण, त्याग र बलिदानीको कीर्तिमानी कायम गरेर प्राप्त सङ्घीय गणतन्त्रलाई व्यवस्थापन गर्ने अभिभारा सङ्क्रमणको बुद्धिमत्तापूर्ण व्यवस्थापनबाट मात्रै सम्भव छ ।
सङ्क्रमणका कारक पहिचान
नेताहरूको सुझबुझपूर्ण नेतृत्व र स्वतन्त्रता प्राप्तिको आन्दोलनले बनेको सत्तासीन पार्टी आज व्यवस्थापनको चुनौती सामना गर्दै छ । पार्टी व्यवस्थापनको यो घडीमा स्वतन्त्रताको आन्दोलन गर्ने र सङ्घीय गणतन्त्रलाई सम्भव तुल्याउने नेतृत्वको मानमर्दनले हैन, उनीहरूको सम्मानले मात्रै सम्भव छ । नेतृत्वप्रतिको विश्वास र प्राधिकारले आन्दोलन सम्भव तुल्याएको हो भने पार्टीको व्यवस्थापनमा पनि नेतृत्वप्रतिको विश्वास र प्राधिकारको निरन्तरता पूर्वसर्त नै देखिन्छ । त्यसैले, निर्वाचन सम्पन्न भएपछि सत्तासीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत भएको यत्तिका अवधिमा पनि पार्टी किन व्यवस्थित हुन सकेन भन्नेबारेमा आत्मसमीक्षा गर्ने बेला भएन ? नेतृत्वमा त्यत्रो युद्ध र शान्तिको नेतृत्व गर्ने आँट र क्षमता भए पनि यतिबेला पार्टी र सरकारको व्यवस्थापनमा किन त्यो क्षमता र आँट प्रकट भइरहेको छैन ? समीक्षा गर्ने कि ?
सङ्क्रमणमा जनताको धैर्य खाँचो पर्छ भन्ने शास्त्रहरूले बताएका छन् । जनताको धैर्यले मात्रै राजनीतिक सङ्क्रमण व्यवस्थापन सम्भव हुने विश्व इतिहासले देखाउँछन् । स्वाभाविक रूपमा जनतामा धैर्य गुम्दै छ । आन्दोलन भयो, सत्ता उल्टियो, हिजोका शासकहरूले बिदा लिए । दरबार खाली गरियो र हिजो राजा महाराजाहरू विराजमान भएको ठाउँमा आज जनताका छोराछोरी र हिजो आन्दोलनको नेतृत्व गर्ने नेताहरूले आसन जमाए । फेरि पनि जनताका अपेक्षा पूरा गर्न केले रोक्यो ? भन्ने अत्यन्त स्वाभाविक प्रश्न जनताका छन् । तर, आन्दोलनमा जनविश्वास दिलाउन सक्ने क्षमता नेतृत्वले सङ्क्रमणको व्यवस्थापनमा किन दिलाउन सकिरहेको छैन । यस मामलामा नेतृत्व र जनताको धैर्यमा कहाँ कमी भयो समीक्षा गनुपर्छ ।
सङ्क्रमणकालीन पार्टी र सरकार झन् व्यवस्थित र चुस्त–दुरुस्त हुनुपर्ने थियो । पारदर्शिताले जनताको विश्वास र शक्ति पैदा गर्छ तर जनताले पार्टीको गठन, विघटन र मन्त्रिपरिषद्को गठन, पुनर्गठन र विघटनको कुनै भेउ पाउन सकेनन् । विनासही सूचना जनताले प्रतिरक्षा गर्ने कुरा भएन । जब जनताले प्रतिरक्षा गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ, सरकार, पार्टी वा नेतृत्व स्वतः कमजोर हँुदै जान्छ । कमजोर नेतृत्वले शक्ति आर्जन गर्न जनता र कार्यकर्ता छाडेर कतै परम्परागत शक्तिको सहारा लिन थालेको त होइन ? हिजोका आन्दोलनविरोधी प्रतिगामी तŒवहरू वा सेना, पुलिस र कर्मचारीतन्त्रको सहारामा राजनीतिक नेतृत्वले आफूलाई बलियो र सुरक्षित ठान्न थालेपछि सरकार र पार्टी कमजोरमात्रै हँुदैनन्, सङ्क्रमण व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्राथमिकताको सूचीबाट हराउँदै जान्छ । यस्तो नहोओस् ।
जुनसुकै विषयको व्यवस्थापनमा पनि सत्य र तथ्यले प्रश्रय पाउनुपर्छ । सत्य र तथ्यमा आधारित व्यवस्थापन, निष्कर्ष वा निर्णय सही हुन्छ । सत्य तथ्यभन्दा बाहिरको व्यवस्थापन निष्कर्ष र निर्णय गलत हुन्छ । गलत निर्णय टिक्दैन, त्यसको प्रतिरक्षा पनि गर्न सकिँदैन । झन् सङ्क्रमणको व्यवस्थापनमा त सत्य र तथ्य नै यसका प्राथमिक आधार हुन् । सत्य र तथ्यका आधारमा निष्कर्ष निकालिएको भन्नुमात्रै पर्याप्त हँुदैन, आमजनताले सो कुरा पत्यार गर्ने लायकको हुनु पनि पर्छ । जब सत्य र तथ्यबाहेक कसैको विचार वा दृष्टिकोण प्रेरित भनाइका आधारमा निर्णयहरू आउँछन्, त्यतिबेला सङ्क्रमणकालीन व्यवस्थापन गिजोलिन्छ । त्यसले गलत बाटो लिन्छ ।
गलत बाटोमा गएको सङ्क्रमणलाई सही बाटोमा ल्याउन सहज छैन । फेरि अर्को आन्दोलन गर्नुपर्ला तर त्यतिबेला ढिला भइसकेको हुन्छ । आन्दोलन गरेर प्राप्त उपलब्धि जोगाउन र सङ्क्रमणको व्यवस्थापन गर्न नसक्ने नेतृत्वको आह्वानमा जनता फेरि आन्दोलनमा आउलान् भनेर सोच्नु सर्वथा गलत हुन्छ । त्यसैले सङ्क्रमणकालीन व्यवस्थापन सफल ढङ्गले गर्नु आवश्यक छ । यसका लागि जनताको धैर्य, विश्वास र आस्थालाई निरन्तरता दिने, नेतृत्वलाई पुनः एकपटक प्राधिकार दिने र वर्तमानका असल कर्मले सही भविष्यको निर्माण हुँदै छ भन्ने भरपर्दो आधार तयार गर्ने काम पूर्वसर्त हुन् ।
खडा चुनौती
राजतन्त्रको चकचकी भएका बखत गणतन्त्रको सपना देख्ने नेतृत्वप्रति नेताहरूको नाम उच्चारण गर्दा होस् वा नेताहरूलाई होच्याएर कसैले बोल्दामात्रै पनि किन नहोस्, तुरुन्तै ठाउँको ठाउँ प्रतिवाद गर्ने कार्यकर्ता आज नेतृत्वलाई नाङ्गै नचाउँदा पनि किन मौन छ ? यो गम्भीर चुनौतीको विषय हो । देश र जनताको सेवाबाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको बताइरहेका नेताहरूका बारेमा आज भ्रष्टाचारका आरोप र अकुत सम्पत्ति थोपरेका समाचारहरू बारम्बार पढ्नु परिरहेको छ, कार्यकर्ता मौन छन् । त्यसको प्रतिवाद गर्ने हिम्मत, आँट किन पलाएन ? जब कि हिजो मुक्ति वा मृत्युको कसम खाएका र आज पनि आदेश पाए धरहराबाट हामफाल्न तयार रहेको अभिव्यक्ति दिने कार्यकर्ताको कुनै कमी छैन । तर नेतृत्वको आस्था, विश्वास र समर्थनविरुद्धका लाञ्छनाप्रति त्यो पङ्ति प्रतिवाद गर्दैन । बरु मौनता साँध्दै छ । यस्तो किन भयो ? सङ्घीय गणतन्त्रलाई सम्भव तुल्याउने, समृद्धिको सपनामा पूरै देश र जनतालाई विश्वासमा लिन सक्ने, समृद्ध नेपाल सुखी नेपालीको नारा निर्धारण गर्न सक्ने, भर्खरै सामन्तवादबाट पुँजीवादमा तोताते गरेको नेपाली समाजलाई समाजवाद हँुदै साम्यवादमा लैजाने प्रतिबद्धता व्यक्त गरेको नेतृत्वप्रति आज जनता, कार्यकर्ता र शुभचिन्तक किन मौन या विभाजित छन् वा कान ढालेर बसेका छन् ? यसको जवाफ नेतृत्वले आफैँबाट खोज्नुपर्छ ।
हिजो आफूलाई राजनीतिबाट अलग भन्ने तर सङ्घीय गणतन्त्रका लागि राजनीतिक दलहरूलाई आन्दोलनको एजेन्डा तय गर्न प्रोत्साहित गर्ने नागरिक समाज, राजनीतिक दलहरूले आँट नगर्दा पनि आन्दोलनको उद्घोष र त्यसको नेतृत्व गर्दै राजनीतिक दलहरूलाई सो आन्दोलन हस्तान्तरण गर्नेहरू आज तिनै नेतृत्वप्रति किन सहज छैनन् ? समस्या पैदा भएको नेतृत्वले बुझ्न जरुरी छ ।
निष्कर्ष
सङ्क्रमणको व्यवस्थापन गर्ने काम जटिल र पीडादायक हुन्छ भन्ने कुरा तथ्यहरूले देखाइसके । सङ्क्रमण व्यवस्थापनमा जनताको धैर्यतापूर्ण समर्थनको खाँचो पर्छ भन्ने शास्त्रले भनेकै छन्, आफ्नै अनुभवले पुष्टि गरे । सङ्क्रमणमा व्यक्तिगत दृष्टिकोण र विचारबाट हैन, सत्य र तथ्यका आधारमा अघि बढ्न सक्नुपर्छ भन्ने पनि पटक–पटक प्रमाणित भइसकेको विषय हो । यिनै पूर्वसर्त मनन गर्नुपर्छ नेतृत्वले । पार्टी र सरकारको सफल व्यवस्थापनमा नेपाल कम्युनिस्ट पार्टी
दत्तचित्त हुनुपर्छ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)