Monday, March 28, 2016

वैकल्पिक राजनीतिक सम्मेलनलाई फर्केर हेर्दा

गत मार्च १७ र १८ २०१६ मा डेनिस संसदमा युरोपभरीका वैकल्पिक राजनीतिक धाराका ५० भन्दा बढी नेताहरुको जमघट थियो । युरोप विकास समृद्धि हिसाबले संसारकै अग्रस्थानमा छ । डेनमार्क झन् अगाडि संसारकै खुसी र सुखी मानिसहरुको बस्ती भएको देशमा दर्ज भएको छ । तापनि मानिसहरु वैकल्पिक राजनीतिको कुरा गरिरहेका छन् । कुनैबेला कुल जनसंख्याको ४० प्रतिशत जनता कुनै न कुनै राजनीतिक पार्टीको सदस्य भएको मुलुक हालसालै आउँदा सो संख्या घटेर ४ प्रतिशतमा झरेको छ र त्यो पनि अझै घट्दो क्रममा छ ।
यो तथ्यांकले राजनीतिकर्मीलाई नछुने प्रश्नै रहेन र तत्काल निष्कर्ष निकालियो कि राजनीतिमा कहिं न कहिं समस्या छ । राजनैतिक दल निर्माणमा समस्या छ, सञ्चालनमा समस्या छ र नीति र नेतृत्वमा समस्या छ । निर्णय प्रक्रियामा समस्या छ र निर्णय कार्यान्वयनमा समस्या छ तब परिणाममा समस्या छ । त्यसैले अब जानेमानेको र चलिआएको रीतको राजनीतिक चक्र पूरा भयो । अबको राजनीति वैकल्पिक राजनीति भनेर गत दुई वर्ष अघिमात्रै आरम्भ भएको डेनमार्कको अल्टरनेटिभ पार्टीले सो सम्मेलनको आयोजना गरेको थियो भने युरोप भरीका राजनीतिकर्मीहरुको रुचिपूर्ण उपस्थिति थियो ।
सम्मेलनमा आजको समाज सुहाउँदो राजनैतिक नेतृत्वको प्रश्न, आजको समाजका समस्या समाधान गर्ने सामाजिक आन्दोलनको प्रश्न र आजको समाजलाई सद्मार्गमा डोर्याउने आमसञ्चारको प्रश्न गरी तीन भागमा विभक्त गरिएको थियो ।


खिमलाल देवकोटा
खिमलाल देवकोटा

संसद भवन भित्रै आयोजना गरिएको सो सम्मेलन कुनै परम्परागत तौरतरिकाबाट सञ्चालन गरिएको थिएन । अर्थात् त्यहाँ कुनै अतिथि थिएनन् । औपचारिक परिचय हैन कि एक आपसमा घनिष्टता कायम गर्ने खालको चक्रिय परिचय आदान-प्रदानको कार्यक्रम रहेको थियो भने कार्यक्रमकालागि कुनै औपचारिक कार्यपत्र र टिप्पणीको कुनै गुन्जायस नै थिएन । पचासभन्दा बढी नेताहरुको उपस्थितिमा आयोजित सो सम्मेलनको एक कुनामा आठ जना विभिन्न विषयका विज्ञ सम्मिलित स्वयंसेवकहरुको टेवल अहोरात्र खटिरहेको थियो जसले पूरै सम्मेलनको विषय प्रस्तुति टिप्पणी र भलाकुसरी सबै कैद गर्दथ्यो । बेलाबखतमा समूहहरु बन्दथे । कुनै समूह कफि हाउसमा जान्थ्यो त कुनै समूह समुद्रकोबीचमा त कुनै पुस्तकालयमा । तर हरेकको ध्यान विषयवस्तुमा नै केन्द्रित थियो ।
सम्मेलनको अन्तमा नेतृत्व, सामाजिक अभियान र आमसंचारका बारेमा विज्ञ समूहलाई विश्लेषणसहितको निष्कर्ष निकाल्न र सो निष्कर्ष आ-आफना कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धतासहित समापन भएको थियो । सम्मेलनमा उपस्थित नेताहरुको भावनात्मक सम्बन्धका अतिरिक्त कार्यात्मक सम्बन्ध पनि स्थापित गर्दै र साझा मिडिया हबमार्फत नियमित र निरन्तर सम्पर्कमा रहन र वैकल्पिक राजनैतिक धारबाट मात्रै अर्को विश्वको परिकल्पना संभव छ र त्यो हाम्रै जीवनकालमा संभव छ भन्ने गहिरो आत्मविश्वासका साथ अर्को वर्ष लण्डनमा भेटने वाचा पनि गरिएको थियो ।

  • औपचारिक लोकतन्त्रको अभ्यासको उच्चतम विन्दुमा पुगेका तर नेता र जनताको सम्बन्ध सजीव बनाउन नसकेकाहरुको साझा निष्कर्ष थियो । अब वास्तविक र जीवन्त लोकतन्त्रको सख्त खाँचो छ ।
  • सबै नीतिहरुको मुल नीति राजनीति हो तैपनि राजनीतिप्रतिको जनताको आकर्षण र विश्वास अनपेक्षित रुपमा घटेको छ जो राजनीतिकालागि कुनै पनि अर्थमा शुभ संकेत होईन ।
  • संसारका आधा जनतासंग भएको सम्पत्ति बराबरको सम्पत्ति संसारका धनी ६२ जना मानिसको हातमा केन्द्रित छ । थोरै मानिसका हातमा विश्व अर्थतन्त्र केन्द्रित हुने प्रकृया तिव्रतामा छ । गत वर्ष मात्रै यो संख्या ८८ थियो भने आगामी केही वर्षमा नै यो संख्या घटेर औलामा गन्न सकिने संख्यामा पुग्नेछ । अनि उनीहरुकै सनकमा विश्व ध्वस्त हुने वा सम्वृद्ध हुने कुराको निर्धारण गर्नेछ । यो अवस्था राजनीतिकर्मीकालागि कुनै पनि हालतमा उत्साहजनक कुरा हैन ।
  • आजको कुल आर्थिक वृद्धिको ९९ प्रतिशत हिस्सा केवल १ प्रतिशत मानिसहरुले उपभोग गर्दछन् भने ९९ प्रतिशत मानिसहरुले बाँकी रहेको १ प्रतिशत आर्थिक वृद्धिलाई बाँडचुड गर्न बाध्य छन् यो तथ्यांकले धनी र गरीबबीचको खाडल पुर्नै नसक्नेगरी गहिराउँदैछ । यो विभाजनकाबीचमा राजनीति गर्ने कुरा चानेचुने पक्कै हुने छैन ।
  • संसारको जनसंख्याको नक्सा फेरिँदैछ । पश्चिमबाट पूर्वतर्फको यात्रा तिव्रतामा छ भने सभ्यता, दर्शन, नीति, सिद्धान्तसमेतले कोल्टे फेर्ने अवस्थामा छ । यो तथ्यले पनि परम्परागत राजनीतिको निरन्तरताले समयको मागलाई संवोधन गर्न सक्ने छैन मात्रै हैन परम्परागत राजनीति कुनै पनि बेला दुर्घटनामा पर्ने खतरा छ ।
  • जनता र नेता नीति र नेतृत्व एकापसमा धेरै टाढा पुगेका छन् । नीतिमा, नेतृत्वमा, निर्णयमा र कार्यान्वयनमा आम जनताको स्वामित्व स्थापित गर्ने समस्या निकै डरलाग्दो अवस्थामा पुगेको छ । राजनीति आम जनताकालागि र आम जनताका नाममा गर्ने तर तिनको स्वामित्वको त कुरै छोडौं । तिनको समिपसम्म पनि पुग्न नसक्ने अवस्थाको राजनीति समग्रमा राज्यको नीति बन्न नसक्ने कुरा जगजाहेर नै छ ।
  • आजको समाजवाद आफ्नो दायरामा चलेको छैन । लिक छोडेको रेल जस्तै भएको छ भने आजको पुँजीवाद पनि झन अर्कै रुप रंगमा परिणत भएको छ । जसलाई जे वादको शासन भनिएको छ त्यो खासमा त्यस्तो छैन भने जे व्यवहारमा भैरहेकोछ त्यसको कुनै वाद नै छैन । यस्तो अवस्था भनेको राजनीतिमा चरम संकटको अवस्थाका रुपमा बुझ्न जरुरी छ ।
  • वैकल्पिक राजनीति केवल नारा हैन यो त कार्य हो । वैकल्पिक राजनीति तिलस्मी सपना मात्रै हैन यो त यथार्थ हो । वैकल्पिक राजनीति सुदुर भविष्यको सपना हैन । आज अहिल्यै र भोलि नै गरिने कार्ययोजना हो र यो गर्न सकिने हुन्छ । त्यसैले वैकल्पिक राजनीति (Content Based) निश्चित कार्य सूचिमा आधारित हुन्छ ।
  • वैकल्पिक राजनीति एक प्रकारको प्रति प्रवाह (Anti-Current) हो । नियमितता भित्रको आकस्मिकता हो ।
cphmeeting_videobillede3उपरोक्त निष्कर्षलाई आत्मसात गर्दै अबको राजनीति हिजोको निरन्तरतामा क्षणभर पनि टिक्नेवाला छैन । राजनीतिप्रतिको वितृष्णा अकल्पनीय ढंगले बढेको छ । राजनीतिप्रतिको विश्वास पूरै हराएर गएको अवस्था छ । यस्तो अवस्थामा पुरानै तरिकाले राजनीतिलाई पुनर्जीवन दिन पनि संभव छैन भने यथास्थितिमा जनताको विश्वास आर्जन गर्न पनि झन संभव छैन । त्यसैले विद्यामान राजनीति ध्वस्त हुनु अगावै यसलाई बदल्न सकिएन भने त्यसले भयानक र अकल्पनीय परिणाम लिएर आउने निश्चित छ । त्यसैले यसलाई बलैमा बदल्न र बलैमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्न चुक्न हुँदैन । अब ढिलो नगरौं । वैकल्पिक राजनीतिको आरम्भ गरौं । यसमा अनुसन्धान गरौं र समयको गति सुहाउँदो आयामहरुको विकास गरौं र राजनीतिलाई बचाऊँ भन्ने नै उक्त सम्मेलनको अव्यक्त, अलिखित तर दृढ मान्यताको सहमति थियो । यो अवस्था नेपाली धर्तिमा अनुवाद गरेर हेर्दा कुनै अर्थमा पनि भिन्न छैन । बरु त्यो भन्दा विकराल छ त्यसैले नेपालमा वैकल्पिक राजनीतिको आरम्भ ढिला भैसकेको छ । परम्पराले समाज, देश, पार्टी त चल्दैन नै, घर परिवार र वैयक्तिक जीवन पनि चल्दैन भन्ने बेलैमा हेक्का राख्दै वैकल्पिक राजनीतिको अभियानमा सहभागी बनौं ।
- See more at: http://www.sajhapost.com/2016/03/28/34633.html#sthash.6b7p6LBg.dpuf

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...