Wednesday, March 30, 2016

बाबुराम भट्टराईको नयाँ शक्तिमाथि सात आरोप

http://kathmandutoday.com/2016/03/181384.html

बाबुराम भट्टराईको नयाँ शक्तिमाथि सात आरोप

 2 Google +1 
  83
khim lal devkota
गठन हुनुअघि नै डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईदेखि नयाँशक्तिमा प्रवेश गरेका व्यक्तिहरुबारे पनि बजारमा चर्चा छ । चर्चा र टिप्पणीमात्रै होइन, नयाँशक्तिलाई कटाक्ष गर्ने आरोप पनि अगाडि आएका छन् । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टीबारे उठेका गम्भीर प्रश्नको जवाफ यसरी दिएका छन्ः
बाबुराम भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा पार्टी बन्न सक्दैन, किनकी भट्टराई विकासवादी सोच भएका प्राविधिक मात्रै हुन्, नेता होइनन् ।
नेपाली समाजमा पार्टी निर्माणजस्तो जटिल कुरा अरु केही छैन । पार्टीजस्तो पार्टी बनाउने कुरा झन् जटिल छ । हामीले त्यो जटिलता स्वीकार गरेर नयाँ ढंगले पार्टी निर्माण गर्ने सन्दर्भमा हामी अघि बढेका छौं । हामीले ‘अल्टरनेटिभ मुभमेन्ट’ भनेका छौं । ‘अल्टरनेटिभ मुभमेन्ट’ को एउटा ‘क्यारेक्टर’ एण्टी करेण्ट हुन्छ । एण्टी करेण्टको प्रक्रियाबाट हामी पार्टी निर्माण गर्दछौं । बाबुरामजीले पार्टीको नेतृत्व गर्न सक्ने÷नसक्ने, नेता हो वा होइन, त्यसको चिन्ता अरुले कम्तिमा नलिइदिए हुन्छ । त्यो कुरा समयका लागि छोडिदिँदा राम्रो हुन्छ होला ।
कुनै पनि पार्टीको विचार, दर्शन, सिद्धान्त र त्यसका आधारमा कार्यक्रमहरु हुन्छन् । तपाईंहरु पार्टी बनाउँछु भन्नुहुन्छ । तर केही छैन ।
आजसम्म परम्परागत रुपमा बनेका पार्टीहरुमा सबभन्दा पहिला कस्तो विचारको पार्टी बनाउने भनेर जान्थे । उनीहरुको असफलताको कारण नै त्यही रहेछ । हामीले सफलता प्राप्त गर्नका निम्ति त्यसलाई सुल्ट्यौं । समाजमा रहेका कुन चाहिं समस्या वा अन्तरविरोध सल्टाउन पार्टी भन्ने हुन्छ । हामीले त्यो स्पष्ट गरेका छौं । राजनीति भनेको समाजमा विद्यमान समस्या समाधान गर्ने विधि हो । जनताको समस्या समाधान गर्ने वदा, सिद्धान्त, नीति जे हुन्छ त्यही चाहिं हाम्रो राजनीति हुन्छ । दोश्रो हामीसँग नीति, सिद्धान्त, विचार केही पनि छैन भन्ने कुरा होइन । किन भने हामीले आजसम्म प्रतिपादन भएका सिद्धान्त, दर्शन, आदर्श, नीति र विचारहरु जो जसरी आए तिनले अहिलेको बदलिँदो समाजको आवश्यकतालाई सम्बोधन गर्न सकेनन् । त्यसो भएको हुनाले बदलिँदो समाजको आवश्यकतालाई सम्बोधन गर्न लायक विचारको विकास गर्र्दै त्यही विचारका आधारमा नयाँ शक्ति निर्माण गर्ने हाम्रो स्पष्ट बाटो छ ।
अहिलेको सन्दर्भमा राजनीतिको एउटा चक्र पूरा भयो । अब फेरि त्यही राजनीतको चक्रमा घुमिरहने गोलचक्करमा फस्ने कि अर्को फड्को मार्ने भन्दाखेरि हामीले अर्को फड्को मार्ने सोच्यौं । त्यो भनेको ‘गभर्नेन्स एण्ड डेभलपमेण्ट’ (सुशासन र विकास) हो । हामीले त्यो विधि अपनाउन खोज्यौं । हाम्रो आरोप चाहिं के हो भने अरु पार्टीहरु पूरानै गोलचक्करमा फसे । त्यसकारण हामी नयाँ भयौं, अरु पूराना भए । हामी विचार, नीति, सिद्धान्त, मूल्य, मान्यता सबै छ । जसलाई हामीले पाँच ‘स’ को मान्यता भनेका छौं । त्यसैका आधारमा अगाडि बढेका छौं ।
पार्टीले ठोस आकार ग्रहण नगर्दै विवाद सुरु भइसक्यो । पूर्वमाओवादी र गैरमाओवादी पृष्ठभूमिबाट आएकाहरुबीच गुटगत राजनीति सुरु भयो ।
केही मान्छेहरुले नयाँ शक्ति अभियान सुरु भएपछि नयाँ शक्तिले केही लछार्ने वाला छैन त्यसकारण यसलाई किन महत्व दिने भन्ने सोचेका थिए । उनीहरुले नयाँ शक्तिलाई एक प्रकारले बेवास्ता गरे । त्यो बेवास्ताको बावजुद यसले नयाँ तरंग पो ल्याउन थाल्यो । पूराना पार्टीहरुमा पहिरो जाँदै यतितिर आकर्षण गर्न थाल्यो । नीति, योजना, दृष्टिकोण पनि वैज्ञानिक र समयसापेक्ष आउन थाले । यसलाई उनीहरुले आफ्नो चुनौतीका रुपमा बुझे । त्यसैले पार्टी बन्नु अगाडि नै यसलाई बदनाम गरेर पार्टी बन्न नसक्ने स्थिति ल्याउन सकिन्छ कि भनेर लागिपरेका छन् । हामी पार्टी निर्माणकै चरणमा रहेकाले व्यापक बहस पनि भइरहेको छ । बहसकै प्रक्रियामा भएको हुनाले कसरी राम्रो बनाउने, वैकल्पिक विचार के हो ? वैकल्पिक ढंगले कसरी संगठन दिन सकिन्छ ? वैकल्पिक ढंगले कसरी विधि विकास गर्न सकिन्छ भन्ने बहसमा भएको हुनाले बहस हुन्छ । हामी बहसमा छौं, विवादमा छैनौं ।
Baburam-Bhattraiनयाँ शक्तिको केन्द्रीय परिषदका वरिष्ठ सदस्य रामेश्वर खनाल सार्वनजिक रुपमै बाबुराम भट्टराईले विगतमा गरेका कामहरुको जिम्मेवारी नयाँ शक्तिले लिन सकदैन भन्नुभएको छ । तर, तपाईंहरु माओेवादी सशस्त्र जनयुद्धले प्राप्त गरेका उपलब्धीको स्वामित्व लिन्छौं, सहिद र बेपत्ता परिवारको जिम्मा लिन्छौं भन्नुहुन्छ । पूर्वमाओवादी भर्सेस–गैरमाओवादी जस्तो देखियो ।
हामीले नयाँ शक्ति कसरी निर्माण गर्‍यौं भने एकथरी हिजो हामी राजनीतिलाई पेशा बनाएका मान्छे र अर्कोथरी मान्छे ‘राजनीति फोहोरी खेल हो’ भनेका मान्छे । हामी दुवैथरी मान्छे अहिले एउटै निस्कर्षमा पुग्यौं । राजनीति भनेको सेवा हो । राजनीतिमार्फत मुलुक र जनताको सेवा गर्ने हो भन्ने ठाउँमा हामी पुगेकाले हाम्रा धेरै समानता छन् । अर्को कुरा हिजो हामी जो जहाँ थियौं त्यहाँ रहँदा निर्वाह गरेका भूमिका र जिम्मेवारीप्रति कृतघ्न हुने होइन । हामी कृतज्ञ हुनुपर्छ र छौं । हिजो गरेका थियौं, हिजोको आवश्यकताले त्यो मागेको थियो । हामीले गरेको कामले ठूलो उपलब्धि पनि हासिल गरेको छ । तर, हिजैको उपलब्धिमा मात्र गर्व गरेर नयाँ निर्माण गर्न सकिँदैन । आजको आवश्यता सुशासन र विकास हो । सुशासन र विकास हुनुपर्छ भन्नेमा नयाँ शक्तिमा आवद्ध हामी सबैको समान विचार छ । हिजो भएका कुरा र कामका बारेमा गर्व गर्ने वा नगर्ने कुरा हरेक व्यक्तिको निजी विचारमा भर पर्छ । सबैले एकै प्रकारले गर्व गर्नुपर्छ, त्यो होइन । हिजो त्यो नगरिएको भए आज यो वैकल्पिक विचार निर्माण गर्ने आधार पनि बन्ने थिएन भन्ने कुरा पनि साँचो हो । हामीमा भिन्नता भन्दा पनि हिजो हामी जो जहाँ बसेर आफ्ना भूमिका निर्वाह गरेका थियौं, त्यो भूमिकाप्रति आफूआफूमा इमन्दार हुने हो । यो विषयमा हामीभित्र कुनै विवाद छैन ।
२५–३० वर्षसम्म माक्र्सवादी भनेर राजनीति गर्नुभयो । त्यसैका नाममा गरिएको आन्दोलनमा १५ हजार नेपालीको ज्यान गयो । अहिले त्यो रगतको अपमान गर्नुभयो, विचार छाडेर धोका दिनुभयो ।
मानिसहरुले त्यसो भन्ने गरेको हामीले पनि सुनेका छौं । ती कुरा हामीलाई अनौठो पनि लाग्दैन । तर, हिजोको माक्र्सवाद हिजोकै समाजका लागि लाभदायक र सुहाउँदो थियो । आजको समाजका निम्ति माक्र्सवादमा विकास जरुरी छ । आजको समजका निम्ति हिजोको माक्र्सवादले काम गर्दैन, आजको माक्र्सवाद चाहिन्छ । हिजो सामन्तवादमा रहेको नेपाली समाजका निम्ति त्यो जरुरी थियो, त्यही गरियो । आज सामन्तवादी समाजको चरित्र पुँजिवादी समाजमा बदलियो । राजनीतिको एउटा चक्र पूरा भयो । अब जनताको जीवनस्तर उकास्ने, आर्थिक विकासको योजना अगाडि ल्याउनुछ । त्यसैले आजका लागि समाजमा फिट हुने विचार विकास गर्नु जरुरी छ । तेश्रो कुरा माक्र्सवाद, माक्र्सवाद भन्दै गर्दा माक्र्सवाद भनेको के हो ? मानिसले बुझेर माक्र्सवाद छाड्यो भन्छन् कि नबुझेर भनिरहेका छन् भन्ने कुरामा पनि हामीलाई शंका छ । पाँच ‘स’ हाम्रा आधारभूत मान्यता हुन् । पाँच ‘स’ माध्येमा एउटा ‘स’ मा हामीले के भन्यौ. भने आजसम्म समाज विकासका क्रममा आजसम्म विकास भएका सबै विज्ञानहरुको आधारमा विकसित समाजमा नयाँ विचार विकास गर्ने उद्देश्य राख्दै, ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवाद भनेको अहिलेसम्म पुष्टि भएको विज्ञान हो । त्यो विज्ञानलाई आधार मानेर हामी त्यो भन्दा अगाडि जान चाहन्छौं । हिजोको माक्र्सवादले मात्र आजका लागि पुगेन । माक्र्सवादपछि पनि धेरै विज्ञानका आविस्कारहरु भएका छन् । तिनलाई पनि विकसित समाजमा कहाँ फिटिङ गर्न सकिन्छ भन्ने चिन्ताका साथ हामी अगाडि बढेका हौं ।
राजनीति र कर्मचारीबाट रिटायर्डहरुलाई, फिल्मका मानिसहरुलाई पार्टी बनाउन खोज्नुभयो । यो नै तपाईंहरुको असफलताको सुरुआत हो ।
मान्छेहहरुले त्यसो भन्छन् । भन्नेसँग कुनै आपत्ति छैन । यो समाज भनेको रिटायर्ड मानिसहरुको बहुमत भएको समाज हो । पार्टीमा लागेको सम्पूर्ण पार्टी सदस्यहरु एकातिर र रिटायर्ड कर्मचारी र अरु मानिसको संख्या जोड्नुभयो भने रिटायर्डहरुकै संख्या बढी हुन्छ । नेपाली समाजलाई डो¥याउने ठूलो भूमिका खेल्ने कलाकारिता रहेछ । जुन चिजलाई अहिलेसम्म राजनीतिमा आकर्षित गर्न सकिएको थिएन । नयाँ शक्तिले वैकल्पिक राजनीतिक धार विकास गर्दैगर्दा हिजो राजनीतिमा उपेक्षित बनाइएका सबै समुदायलाई पनि एठै ठाउँमा राख्दैछौं र ‘बेस्ट बे्रन’ हरुलाई परिचालन गर्ने विधि विकास गर्दैछौं । त्यसकारण असफल होइन, हामी मात्र सफल हुन्छौं भन्ने हामीलाई लागेको छ ।
naya shaktiयति लामो समयसम्म दुःख पाएका, गरिब र सर्वहाराहरुका लागि संघर्ष गर्नुभयो, तर अहिले तिनीहरुलाई लात मारेर तपाईंहरुले पहिला खेदो खन्ने गरेको ‘सुकिला मुकिला’ वर्गको पार्टी बनाउँदै हुनुहुन्छ ।
हामीले सुशासन, विकास र आर्थिक उन्नतीको नारा अघि सारेका छौं । त्यसलाई हामीले जनताको जीवन बदल्ने राजनीति भनेका छौं । जनताकै जीवन बदल्ने राजनीति भनेपछि त हामी झन्बढी आधारभूत जनताको वकलात गरिरहेका छौं भन्ने हाम्रो दाबी हो । हाम्रो दाबी सत्य पनि हो । जसको जीवन बदलिइसकेको छ । तिनको जीवन बदल्नका निम्ति राजनीति चाहिँदैन । जसको जीवन बदल्न बाँकी छ, तिनै आधारभूत जनताको जीवन बदल्नका निम्ति लाग्ने भएको हुनाले हामी अहिले जे गरिरहेका छौं, ठीक ठाउँमा छौं ।
- See more at: http://kathmandutoday.com/2016/03/181384.html#sthash.nmqoLetb.ESjOmW6j.dpuf

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...